• ६ जेठ २०८१, आइतबार

भाइरल ज्वरो र आँखा पाक्ने रोगको सङ्क्रमण बढ्यो

blog

दमौली अस्पतालमा भर्ना भएका बिरामी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

दमौली, भदौ २० गते । तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड लागेको छ। जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने तथा आँखा पाक्ने समस्या भएका बिरामी बढिरहेका छन् । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलेगौंडा जस्ता मुख्य बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामी बढेका हुन् । 

अस्पतालमा बिरामी भिड हुँदा उपचार गर्न भ्याइनभ्याई भएको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी दिनुभयो । पहिलेभन्दा झण्डै दोब्बर बिरामी आउने गरेकाले सेवा प्रदान गर्न समस्या भएको हाल दैनिक ३०० जना बढी बिरामी आउने गरेका र त्यसमा अधिकांश रुघा, खोकी, ज्वरो, टाईफाईटका बिरामी धेरै भएको बरालले जानकारी दिनुभयो । उपचार आउने बिरामीमध्ये ८० प्रतिशतभन्दा धेरै भाइरल ज्वरोका आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले जानकारी दिनुभयो ।

दैनिक ५० जना भाइरल ज्वरका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । बासी सढेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, बिरामीसँग भौतिक दुरी कायम राखी बस्नुपर्ने, खानाखाजा खानुअघि साबुन पानी हात धुनुपर्ने चापागाईँले जानकारी दिनुभयो । बिरामीको चाप बढेकाले दैनिक एक घण्टा सेवा अवधि बढाएर उपचार गर्ने गरिएको चापाईगाईंले बताउनुभयो । दश बजेदेखि दुई बजेसम्म बिरामीको नाम दर्ता गर्ने गरिएकोमा तीन बजेसम्म कायम गरी एक घण्टा थपिएको चापागाईँले बताउनुभयो । 

दैनिक करिब तीन सयभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको त्यसमध्ये करिब दुई सय जना भाइरल ज्वरोका बिरामी आउने गरेको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । शरीर भारी हुने, शरीर दुख्ने, टाउको, आँखाको गेडी दुख्ने, ज्वरो आउने, शरीर आलस्या हुने लगायतका समस्या भएका भाइरल फिवरका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । डा. श्रेष्ठले भन्नुभयो, “भाइरल ज्वरका बिरामी बढेका छन् म आफैँ पनि बिरामी भए ।” आँखा पाक्ने बिरामीको पनि चाप बढेको उहाँले जानकारी दिनुभयो ।