• १२ मंसिर २०८१, बुधबार

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

blog

जिल्ला अस्पताल कालीकोटको इर्मेजेन्सी वार्डमा भरिएका बिरामी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, भदौ १८ गते । कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ ।  गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । 

हप्ता दिनसम्म ज्वरो निको नभएपछि ११ कोष टाढा रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका लगायतका स्थानीय तहबाट बिरामी जिल्ला अस्पताल आउन थालेका छन् । 

भाइरल ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा बेडको पनि अभाव हुन थालेको छ । आइतबार इमर्जेन्सी वार्डमा बेड अपुग हुँदा बेन्च राखेर बिरामीको उपचार थालिएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा. सङ्केत विश्वकर्माले नयाँ भवन बन्न धेरै समय लागेका कारण अस्पतालमा बिरामीलाई बेड अपुग हुनेगरेको बताउनुभयो । ‘अहिले सिजनल भाइरल ज्वरो फैलिएको छ, बिरामी दैनिक दुईसयको हाराहारीमा अस्पताल आउनेगरेका छन्, अस्पतालमा बेडको अभाव भइरहेको छ’ डाक्टर विश्वकर्माले बताउनुभयो ।  

सान्नीत्रिवेणी गाउँपालिका–२ का अनिल विष्टले आफ्नो दाजु बिरामी भएको तीन दिनसम्म पनि ज्वरो निको नभएकाले जिल्ला अस्पतालमा आउनुपरेको बताउनुभयो । अस्पतालमा बेड अपुग भएर दिनभरि बेन्चमा बिरामीलाई राख्नुपरेको गुनासो गर्नुभयो । 

इमरजेन्सी वार्डमा बिरामीको चाप निकै बढिरहेको छ । अस्पतालका डाक्टर अप्सरा हमालले गाउँमा भाइरल ज्वरो फैलिएका कारणले अस्पतालमा पनि बिरामीको सङ्ख्या वृद्धि भएको सुनाउनुभयो । आइतबार दुई सय नजिक बिरामीले ओपिडी सेवा लिएका थिए भने त्यसमा ज्वरोका मात्र एकसय बिरामी रहेको अस्पताल चिकित्सकको भनाइ छ ।