• ३० वैशाख २०८१, आइतबार

अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

blog

एमाले अध्यक्ष ओलीसहित एमालेका पदाधिकारीसँग होलेनको भेटवार्ता ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटका सदस्य क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष ओली र होलेनबीच भेट भएको हो ।

भेटमा मुख्यतः शान्ति प्रक्रिया, मिलिनियम् च्यालेन्ज कम्प्याक्ट् (एमसिसी) कार्यान्वयन सम्बन्धमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो, “शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो । अब कसरी के हुन्छ भन्नेबारे, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा उहाँको आशायुक्त टिप्पणी थियो ।”

यस विषयमा अध्यक्ष ओलीले पार्टीको स्पष्ट दृष्टिकोण राखेको भन्नुहुँदै उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया हाम्रो सरकार हुँदाकै बेलामा यसलाई टुङ्गोमा लग्न  प्रयास गरेको कुरा प्रष्टसँग राख्नुभयो ।” 

मुख्य तीन विषय अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला र शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुङ्गोमा पुग्नुपर्छ भन्ने किसिमबाट मूलभूत छलफल भएको उहाँको भनाइ छ । उहाँले नेपालको संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता एमसिसी कार्यान्वयन हुने विषयमा सकारात्मक छलफल भएको बताउनुभयो ।