• १२ साउन २०८१, शनिबार

एसिया कप क्रिकेट

भारतसँग गर या मरको अवस्थामा नेपाल

blog

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ।

काठमाडौं, भदौ १७ गते । एसिया कप क्रिकेटको दोस्रो खेलमा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाललाई अगाडि बढ्न भारतलाई हराउनै पर्ने बाध्यता छ ।

समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल अङ्क विहीन छ । दुई खेलबाट तीन अङ्क बनाएको पाकिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाका कारण रद्द  भएको थियो । 

पाकिस्तानसँग बराबरीसँगै एक अङ्क बनाएको भारतलाई सुपर चारमा नेपालसँग बराबरी नै काफी छ । नेपाललाई भने सुपर चारमा पुग्न भारतलाई हराउनै पर्ने बाध्यता छ । त्यसैले भारतसँगको खेल नेपालका लागि गर या मरको अवस्थामा रहेको छ । नेपालले भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई पन्छाउन १५औँ वरीयतामा रहेको नेपालले ब्याटिङ र बलिङ दुवैमा उल्लेख्य सुधार गर्नुपर्ने चुनौती छ । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालको दुवै पक्ष कमजोर बनेको थियो ।

पहिलो खेलमा जितका लागि पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार (१०४) रनमा समेटिएको थियो । भारतलाई पहिलो भेटमै स्तब्ध बनाउन सके नेपालले एसिया कपमा नयाँ इतिहास रच्ने पक्का छ ।

शनिबार भारत र पाकिस्तानको खेलमा वर्षा बाधक बने जस्तै सोमबार पनि श्रीलङ्काको कान्डीमा वर्षाको सम्भावना रहेको छ । यदि वर्षाले खेल रद्द भएमा नेपाललाई दुर्भाग्य हुनेछ । भारत भने बराबरी नतिजाले अगाडि बढ्नेछ ।

त्यसैले नेपालका लागि सोमबार भारतविरुद्धको खेलमा मौसमको साथसँगै जित्नै पर्ने दबाब छ । नेपालले भारतसँग खेल्दा नेपाली टोलीका भारतीय प्रशिक्षक मोन्टी देसाईका लागि भने जन्मभूमिविरुद्ध कर्मभूमिको लडाइँ हुनेछ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन भइरहेका छन् । नेपाल पाकिस्तानसँग उसैको मैदानमा खेलेर भारतसँग खेल्न श्रीलङ्का गएको हो । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।