• २१ असार २०८१, शुक्रबार

सिर्जनशील महिला उद्यमी मेला सुरु

blog

काठमाडौँ, भदौ १६ गते । ‘२० औँ डाबर वाटिका तिज फेस्टिभल सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा नजिकिँदै गरेको तिजलाई लक्षित गरेर दरबारमार्ग स्थित होटेल अन्नपूर्ण होटलमा महिला उद्यमी मेला सुरु भएको हो । 

 शुक्रबारदेखि सुरु भएको मेलामा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रूपमा मेलाको उद्घाटन गर्नुभएको थियो । 

महिला सिर्जनशील केन्द्रका अध्यक्ष मिलु थापाले महिला उद्यमीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिनुभयो । महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुहरूको प्रवर्घन गरी उनीहरूलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने थापाले विश्वास व्यक्त गर्नुभयो । सिर्जनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौँ आत्मनिर्भर भन्ने अभियानका साथ सञ्चालन गरिएको मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुहरूको बिक्री वितरण गरिने छ ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री चित्रकारले तिज संस्कृतिलाई उद्यमसँग जोड्नु राम्रो भएको बताउनुभयो । तिजलाई खाने लाउने पर्व मात्रै नभएर तिजलाई आत्मनिर्भर महिला बनाउनका लागि उद्यमशील महिला बनाउनुपर्ने कुरामा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई माथि उकास्नका लागि महिलालाई उद्यशीलतासँग जोडनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रमा माइती नेपालका अध्यक्ष कोइरालाले महिला दिदीबहिनीले सञ्चालन गरेका उद्योगबाट गुणस्तरीय वस्तु उत्पादन गरेको पाइएकाले विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका वस्तुहरूको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कोइराललाले महिला दिदीबहिनीहरूले सञ्चालन गरेका उद्यममा उत्पादित सामानहरू गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामग्री, गरगहनालगायतका सामग्री प्रदर्शनमा राखिएको छ । 

मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताउनुभयो । तीन दिनसम्म चल्ने मेलामा पाँच सय स्टल राखिएको छ ।