काठमाडौं, भदौ १५ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताउनुभयो । शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि उहाँले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो ।
‘‘संसारको सुन्दर मुलुकहरुमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढङ्गको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसावले आकर्षक क्षेत्रको रुपमा विकास गर्ने जे सुरुवात गरेको छ । यो राष्ट्रकै हीतका लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि नेपाली जनता र नेपाली जातिहरुले गौरव गर्ने चिजको रुपबाट विकास गर्ने शुरुवात हो भन्ने मलाइ लाग्दछ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘यो सुरुवातलाई सबै पक्षबाट सहयोग गरेको खण्डमा काठमाडौंको यो प्रदूषण, काठमाडौंको यो बाल्लो बस्ती र त्यसलाई यहाँ आएर लिने मनारञ्जन र संसारभर यस्ता ठाउँहरु, यो जैविक विविधता, अनेक खालको रुख, विरुवाहरु, यहाँको हावापानीहरु, यसलाई जोगाउने कुरा यसलाई हेर्नका लागि पनि ठूलो धुइरो लाग्न सक्छ ।’’
सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको बताउनुभयो ।
उहाँले ‘‘यसले देशको विकासमा महालक्ष्मीले योगदानहरु गर्नसक्छ भन्ने मलाई लाग्दछ । र यी नजिक गणेशमान सिंहको नाममा भएको पार्क, त्यसले आकर्षण दिइरहेको छ भने त्यसलाई कम्पिटिशन गर्दै यो आइरहेको छ । यस प्रकारको कम्पिटिसनले आकर्षण बढाउने, आम्दानी बढाउने र यसलाई अन्त प्रेरणा लिने ठाउँको रुपमा विकास हुन सक्छ । त्यसका लागि यहाँको मेयरज्युको मुख्य दायित्वको कुरा छ भने प्रदेशसभाका माननीयज्युहरु, प्रतिनिधि सभाका माननीयज्युहरु र खासगरी यहाँका लोकल जनसमुदायहरु, यहाँको सामुदायिक वन, वनका रक्षक जनताहरु । यी सबैले यसलाई त्यसरी लैजानुपर्छ । त्यो ठाउँ आज हेर्न पाउँदाखेरी धेरै खुशी लागेको छ,’’ भन्नुभयो ।
महालक्ष्मी नगरपालिकाले काठमाडौं उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकमा प्रमुख हरिगोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानअन्तर्गत आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनुभयो । उहाँका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरुको स्मृति पार्कहरुलाई निर्माण गर्दै लैजानेछ ।
यसले काठमाडौं उपत्यका र यस क्षेत्रको पर्यटन र पर्यावरणमा मात्रै योगदान नदिई नेपालको समृद्धिमात्रै महत्त्वपूर्ण योगदान पुर्याउने महालक्ष्मी नगरपालिकाको बुझाइ छ ।