गोरखापत्र अनलाइन
काठमाडौ, भदौ १४ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपालमा अन्य देशभन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताउनुभयो । पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर रहेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनमा आन्तरिक ऋण वैदेशिक ऋणभन्दा बढी हुने अवस्था देखिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताउनुभयो । सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुबै भइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौती र जटिलता रहेको बताउनुभयो ।
उहाँले सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको बताउनुभयो । पूर्व मन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताउनुभयो । आन्तरिक उत्पादन छैन, तर सरकारले कर लगाएको भन्दै खाद्यान्नलगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋणभन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशभन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तरालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको वाह्य र आन्तरिक ऋण बराबरजस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तिब्र छ ।’
उहाँले नेपालमा भारत र चीनबाट मात्रै ठूलो संख्यामा पर्यटक भित्र्याउन सकेमा अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताउनुभयो । उहाँले मुलुक आर्थिक रुपमा समृद्ध हुन विदेशी मुलुकको सहयोग पनि अपरिहार्य रहेको बताउनुभयो । अवसर नदेखेर विदेश जाने युवालाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।