• ११ जेठ २०८१, शुक्रबार

नमुना भवन विद्यालयलाई प्रदान

blog

प्रेमराज सिम्खडा

कालीकोट, भदौ १४ गते । जिल्लाकै नमुना भवन विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ मा निमार्ण गरिएको सुरक्षित लैङ्गिक मैत्री तथा समावेशी विद्यालयको नवनिर्मित भवन औपचारिक कार्यक्रमकाबीच विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । 

विद्यालयमा आयोजित कार्यक्रममा जिल्लाकै नमुना र सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन विद्यालयलाई प्रदान गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य हिक्मत बहादुर विष्टले प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालको लगानी, नरहरीनाथ गाउँपालिकाको समन्वयमा निमार्ण भएको भवन विद्यालयलाई हस्तान्तरण गर्नुभयो । प्रदेश सभा सदस्य विष्टले आफूले जिल्लामा देखेमध्येको सबैभन्दा राम्रो र नमुना भवन नन्दादेवि माध्यमिक विद्यालयले प्राप्त गरेको बताउनुभयो ।

९० लाख ५५ हजार ४८४ रुपियाँ ४९ पैसामा निमार्ण सकिएको भवनका चार वटा कक्षा कोठा छन् । शैक्षिक गुणस्तर सुधारको एक सूचकका रूपमा रहेको भवनभित्र शैक्षिक सामग्रीले सजाइएको छ । भवन बाहिरभन्दा भित्र धेरै लगानी छ । प्रदेश सभा सदस्य विष्टले भवन बनाउँदा चार वटा क्षेत्रले निग्रानी गर्दा राम्रो बनेको र समुदायले समेत पाँच रुपियाँ दायाँ, बायाँ नभएको सुन्दा आफू उत्साहित भएको बताउनुभयो । 

गाउँमा आउने सबै विकासे संरचना यसरी नै पारदर्शी रूपमा निमार्ण भएको खण्डमा विकासका लागि धेरै वर्ष कुर्नुपर्ने अवस्था नआउने समेत बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले आफैैं हामी सरकार भएपनि सरकारी काममा धेरै लापरबाही हुने गरेको भन्दै गैससले गर्ने विकासको मोडललाई केही वर्ष स्थानीय सरकारले प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । आफू समन्वय समितिको प्रमुख भए पश्चात् सबै स्थानीय तहमा जाने अवसर मिलेको भन्दै गाउँमा जाने विकासे बजेट व्यक्ति मोटाउने कोषका रूपमा परिचालित भएको सुनाउनुभयो । 

काम गर्नेहरूलाई पनि पुग्ने गरी सेवा दिनुपर्ने र काममा पनि त्यही अनुसार लगाउँदा मात्र कामको प्रतिफल आउने सुझाव दिनुभएको छ । गैरसरकारी संस्थाले कर्मचारीकै सेवामा समेत विशेष ध्यान दिने गरेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले यस्तो भवन विकसित सहर पनि नभएको तर कालीकोटमा गैरसरकारी संस्थाको पहलमा बनेका नमुना भवनको संरक्षण गर्नु अहिले चुनौती त्यही मात्र भएको सुनाउनुभयो । 

गाउँपालिका अध्यक्ष नगिन्द्रबहादुर विष्टले लगानीकर्ताले बनाएका भवनको रेखदेख र मर्मतको जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभयो । भवन भि आधारभूत विद्यालयमा पढ्ने उमेरको विद्यार्थी बस्ने छन् । भवनमा पी फम, काप्रेटका साथै विद्यालयमा भित्तामा पनि शैक्षिक सामाग्रीले सिँगारिएको छ । भवन उद्घाटक लागि सामाजिक विकास मन्त्रालयका प्रवक्ता, किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द्रबहादुर शाही, प्लान एन्टरनेष्नल मिना पराजुली, लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।