काठमाडौं, भदौ १४ गते। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ।बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो।
उहाँले जुन प्रवृत्ति र तागतविरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागत सङ्गठित भएर सरकारको अभियान असफल गर्न लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘सरकारले अहिले समृद्धिको यात्रालाई तीव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तीव्र बनाउने र फड्कोमा पु¥याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अगाडि नबढाई हुँदैन।भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहीनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालोबजारीलाई रोक्ने, ठगीलाई रोक्ने र त्यस प्रकारको अपराधमा संलग्नलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडि बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ।सुशासन स्थापना गरे मात्रै समृद्धिलाई तीव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ।त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ।देशका सबै जनसमुदाय, सबै सङ्गठनले, सबै संस्थाले, सबै युवाहरूले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन्।म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहन्छु ।’’
उहाँले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो।उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाएर छाड्ने बताउनुभयो।मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तीव्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ।तर साथसाथै यो सुशासन जुन प्रवृत्तिविरुद्ध, जुन तागतविरुद्ध सञ्चालन गरिएको हो।ती प्रवृत्ति र तागत सङ्गठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो।तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन।सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन। यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मूल आधारको रूपमा यसलाई अगाडि बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने सङ्कल्प छ।सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन।सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्छ।अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ।नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडि बढ्नुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्याउने पनि बताउनुभयो।