• ३० वैशाख २०८२, मङ्गलबार

गुल्मीमा बालिका मृत्यु प्रकरण: छानबिन गर्न समिति गठन

blog

तिलाचन पाण्डे

तम्घास, भदौ १३ गते । गुल्मी अस्पतालमा उपचारको क्रममा ७ वर्षीया बालिका मृत्यु प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी प्रशंसा मरासिनीको मङ्गलवार बिहान गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बालिकाको मृत्यु अस्पतालको लापरबाहीका कारणले मृत्यु भएको भन्दै पीडित पक्षले शव नउठाएपछि दिनभर अस्पतालमा तनावग्रस्त बनेको थियो । बालिकाको मृत्यु पश्चात् उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्त बिच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् । समितिले बुधवारबाट छानबिनको सुरुवात गर्ने भएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताउनुभयो ।

गैरेका  अनुसार बालिकाको शवलाई पोस्टमार्टम गर्नका लागि श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनालबाट गराएको र  समितिले छानबिन गरेर केही दिनभित्रमै रिपोट तयार गरेर सार्वजनिक गरिने बताउनुभयो ।