• २६ वैशाख २०८१, बुधबार

महाधिवेशन केन्द्रित हुन भ्रातृ संस्थालाई कांग्रेस नेता महरको आग्रह

blog

नेपाल महिला संघ, नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत सदस्यसँग कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर ।

काठमाडौं, भदौ १२ गते । पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजित एक समारोहबीच नेपाल महिला सङ्घ, नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत भएका सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, मधेश र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई अन्तरक्रियात्मक बधाई ज्ञापन गर्नुहुँदै नेविसंघ पूर्व अध्यक्षसमेत रहनुभएका नेता महरले महाधिवेशन केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

‘‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको गतिशीलता रोकिनु हुँदैन । क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ तथा शुभेच्छुक संस्था गतिशील हुनुपर्छ । गतिशीलता प्रदानका लागि पार्टी नेतृत्व पनि गम्भीर बन्नुपर्छ । तपाईँहरूलाई महाधिवेशन केन्द्रित हुन जिम्मेवारी प्रदान गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहोस्, मेरो शुभकामना,’’ महरले भन्नुभयो । महाधिवेशन केन्द्रित हुँदा कतै कुनै असहजता भए सहजताका लागि आफूले प्रयास र सहजीकरण गर्नेसमेत महरले प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले इमानदारितापूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरूले नै वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।‘‘युवाहरूप्रति जनताको ठुलो अपेक्षा हुन्छ । हामी सबै जना जनताको मन जित्ने कार्यमा लाग्नुपर्छ । सङ्गठनलाई गतिशील बनाउँदै जनताको प्रिय पनि बन्न सक्नुपर्छ,’’ उहाँले भन्नुभयो । गतिशील व्यक्तिमात्र राजनीतिमा सफल हुने महरले बताउनुभयो ।

राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन पनि चाँडोभन्दा चाँडो भ्रातृ संस्थाको महाधिवेशनको अपरिहार्यता रहेको महरले औँल्याउनुभयो । उहाँले पार्टीका सबै भ्रातृ  सङ्गठनमा पदाधिकारीसहितको पूर्ण आकारको निर्वाचित कमिटी आउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताउनुभएको छ ।

सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले जानकारी दिनुभयो । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबिनै पनि पार्टी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ ।

‘‘जिम्मेवारी विहीनले के माग गर्ने ? कसलाई काम लगाउने ? अहिले धेरै युवा रनभुल्लमा छन् । अब यो परिस्थितिको अन्त्य हुनुपर्छ । पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ ।,’’ महरले भन्नुभयो । महाधिवेशन भएर निर्वाचित नेतृत्व आउँदा भ्रातृ संस्थालाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उहाँले बताउनुभयो ।

उहाँले गाउँ–गाउँसम्म भ्रातृ सङ्गठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताउनुभएको छ । ‘‘नेविसंघ कांग्रेसको मुटु हो । तरुण दल युवाहरूको ऊर्जा हो। महिला सङ्घ लगायत भातृ संस्था ज्ञानेन्द्रिय हुन्  । यस्ता थुप्रै सङ्गठनको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ । ठुलो समूह जाम भएर बसेको छ । जसले पार्टीका गतिविधिमा ठुलो असर गरेको छ,’ महरले भन्नुभयो । त्यसका लागि जिम्मेवारी प्राप्त साथीहरूको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको महरको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्नुहुँदै नेता महरले अहिले संविधानमाथि सबै क्षेत्रबाट प्रहार हुने गतिविधि भइरहेको बताउनुभएको छ । यसतर्फ चिन्ता व्यक्त गर्दै नेता महरले युवा वर्ग पनि सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

नेता महरले भन्नुभयो, ‘‘निकै ठुलो बलिदानीबाट प्राप्त संविधानको रक्षा हामी सबैको दायित्व हो । संविधान र सङ्घीय व्यवस्थामाथि प्रहार भयो भने पुनः मुलुकमा अस्थिरता निम्तिन्छ । कसैका कुनै असन्तुष्टि भए संवाद र छलफलको माध्यमबाट यहीभित्र समाधान खोज्ने हो । तर संविधानमाथि नै प्रहार गर्ने गतिविधि गर्नु हुँदैन । यसतर्फ पनि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था सचेत हुनुपर्छ ।’’