हरिप्रसाद कोइराला
उर्लाबारी, भदौ १२ गते । मोरङका पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाका किसानहरु धानखेत मास्दै सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउन थालेका छन् ।
धान खेतीबाट भन्दा राम्रो आम्दानी ड्रयागन फ्रुट खेती हुने भएपछि किसानहरुको आकर्षण त्यसमा बढेको हो । सुनवर्सी –१ का गणेश तुर्छा राईले तीन वर्ष अघि दुई बाली धान फल्ने साढे तीन बिघा खेतमा ड्रयागन खेती सुरु गर्नुभयो ।
राई पेशाले निर्माण ब्यवसाय गर्नुहुन्थ्यो । उहाँ कोरोनाले आफ्नो ब्यापार थलिएपछि कृषि कर्ममा सम्भावना खोज्न ड्रयागन खेतीमा होमिनुभएको हो । राईले भन्नुभयो, “सुरुका दिनमा स्थानीयका लागि मात्र होइन, जिल्लामै ड्रयागन खेती नयाँ भयो । आफन्त, इष्टमित्र र साथीभाइले हाँसेर उडाए । वार्षिक तीनसय मन धान फल्ने खेतमा सिउँडीका बोट लगाएको देख्दा धेरैलाई रमिता भयो ।” गणेशले नयाँ खेती भएकाले रातदिन आफै मेहनत गरेको बताउनुभयो ।
वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्ने महत्वाकांक्षी लक्ष्यका साथ ड्रयागन खेतीमा लाग्नु भएका राईले डेढ करोड रुपियाँ लगानी गरिसक्नु भएको छ । उहाँले भन्नुभयो, “दुई सिजन उत्पादन लिँदा ४० प्रतिशत खर्च उठिसकेको छ । २०–२५ वर्षसम्म आम्दानी लिन सकिने भएकाले लगानी खेर जान्छ भन्ने लागेको छैन ।”
राजनीतिसँगै ड्रयागन खेतीमा लाग्नुभएका नेपाली कांग्रेस कोशी प्रदेशका नेता जयबहादुर तामाङ अहिले राजनीतिमाभन्दा ड्रयागन बारीमा बढी भेटिनुहुन्छ । पथरी शनिश्चरे नगरपालिकाको वडा ६ का निवर्तमान वडाध्यक्ष तामाङ स्याउ र सुन्तलाको मूल्यमा ड्रयागन बजारमा पठाउने लक्ष्यका साथ खेतीमा लाग्नुभएको छ ।
तामाङको जग्गा अलि गहिरो थियो । दुई बाली धान फल्ने खेतमा माटो पुरेर उहाँले ड्रयागन लगाउनुभएको छ । उहाँले भन्नुभयो, “११ महिनामा २ बिघा जग्गामा २५० किलो उत्पादन गरें । ९ हजार बिरुवामध्ये आधाले मात्र उत्पादन दिन थालेका छन् ।”
मुस्किलले १४० मन धान उत्पादन हुने खेतमा ११ महिनामा ८७ हजार ५०० रुपियाँको फल बिक्री गर्नुभएका तामाङले भन्नुभयो, “धनीले खाने फलको रुपमा परिभाषित गरिएको छ । हामी बढीमा २५० रुपियाँ किलोसम्ममा बिक्री गर्ने तयारीमा छौं ।”
बिदेशी स्याउ, अनार र सुन्तलालाई विस्थापित गर्न सक्ने सम्भावना देख्नुभएका तामाङले विगतमा प्रतिकिलो ६०० रुपियाँसम्ममा बिक्री भएकाले मूल्य नपाएको हल्ला चलेको बताउनुभयो । चालु आर्थिक वर्षमा समेत १२ हजार किलो ड्रयागन आयात भएको तामाङको भनाइ छ । भण्डारण व्यवस्थित गर्न सके तीन महिनासम्म सुरक्षित रहने भएकाले ड्रयागन उत्पादन गर्ने किसानले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
तामाङले अढाइ बिघामा खेती गर्न डेढ करोड रुपियाँ खर्चिसक्नुभयो । २–३ वर्षमा लगानी उठाउनेभन्दा पनि खेती विस्तार गरेर प्रशोधन सुरु गर्ने उहाँको भनाइ छ । तामाङले भन्नुभयो, “औसत नेपालीले चाडवाड र बिरामी पर्दा मात्र फलफूल खान्छन् । हामी सधैँ खान सक्ने मूल्यमा उत्पादन गर्नुपर्छ भनेर लागिरहेका छौं ।
राई र तामाङले ड्रयागनको व्यावसायिक खेती सुरु गर्नुभएपछि अहिले उहाँका छिमेकीहरू पनि उहाँको लयलाई पछ्याइरहनु भएको छ । ड्रयागन खेती व्यावसायिक सङ्घ कोशी प्रदेशका अध्यक्षसमेत रहनुभएका तामाङका अनुसार पथरी शनिश्चरे र सुनवर्सीमा मात्र १२ बिघा जग्गामा ड्रयागन खेती भइरहेको छ ।
खगेन्द्र लिम्बूले २ बिघा ५ कट्ठामा, मनीष राईले २ बिघामा, हेमेश्वर राईले २ बिघामा ड्रयागन लगाउनुभएको छ । बिघाभन्दा कम क्षेत्रफलमा लगाउने अझ धेरै किसान छन् ।