रमेश विश्वकर्मा
गुल्मी, भदौ ११ गते । विश्व हिन्दु महासंघ गुल्मीसहितका संघ संस्थाहरुले गोहत्या विरुद्ध विरोध यहाँ प्रदर्शन गरेका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि गोहत्या तथा धर्म परिवर्तनजस्ता अवाञ्छित क्रियाकलाप तत्काल बन्द गराउन माग गर्दै विश्व हिन्दु महासंघसँगै रेसुंगा संरक्षण समिति, सत्यशाही केन्द्र, राधा माधव समिति, बह्मकुमारी राजयोग केन्द्र तथा सनातन हिन्दू धर्ममा आस्था राख्ने संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
हाल नेपालमा देखा परेका राष्ट्रिय एकता, परम्परा र धार्मिक सहिष्णुता माथि नै खलल पुग्नेखालका अवाञ्छित गतिविधिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विश्व हिन्दू महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।
हिन्दुहरुका माता तथा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गर्ने जोकोहीलाई दण्डित गरी यस्ता गतिविधिहरु तत्काल नियन्त्रण गर्न विश्व हिन्दु महासंघले माग गरेको छ । सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र समेत बुझाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘देशमा सबै धर्मको आपसी समन्वय र धार्मिक सहिष्णुतालाई जीवन्त राख्न राष्ट्र सक्षम हुनुपर्छ । हिन्दुहरुको मौलिक पहिचान निमिट्यान्न पार्ने कुचेष्टा चलिरहेको छ ।’
ज्ञापनपत्र वाचन गर्दै रेसुंगा संरक्षण समितिका सचिव समेत रहनुभएका गोपाल पन्थीले भन्नुभयो, ‘गोहत्या बन्द गरियोस्, हिन्दुधर्म, परम्परताप्रतिको प्रहार बन्द गरियोस् ।’ सो अवसरमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ज्ञापनपत्रलाई सम्बन्धित स्थानसमक्ष पुगाउने बताउनुभयो । ज्ञापनपत्र हस्तान्तरणपछि विरोध सभा समेत गरिएको थियो।