भक्तपुर, भदौ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार केन्द्रको अनुगमनपछि बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकाले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘केन्द्रले मिर्गौला र कलेजोका बिरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु ।’’
मन्त्री बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्यून भएकाले लगानी बढाउन पनि आफू सकारात्मक रहेको बताउनुभयो ।
केन्द्रले प्रदान गरिरहेको सेवाहरुको विषयमा मन्त्री बस्नेतले निरीक्षण गरेको थियो । मन्त्री बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकसमेत रहनुभएका मिर्गौला एवम् कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवा र भौतिक संरचना अभावले विरामीको चाप अनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाउनुभएको थियो ।
केन्द्रको निरीक्षणपछि मन्त्री बस्नेतले विरामीको चापको तुलनामा भवन नभएकाले डायलासिस सेवा विस्तार गर्न नसकिएकोले स्वास्थ्य मन्त्रालय चाँडोभन्दा चाँडो जग्गा उपलब्ध गराएर नयाँ भवन बनाउने अभियानमा अगाडि बढेको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले कम्तीमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिनुभएको थियो ।
मन्त्री बस्नेतले केन्द्रसहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसहितलाई गाभेर स्वास्थ्यविज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाउने उल्लेख गर्नुभयो । केन्द्रका निर्देशक डा.श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । केन्द्रले वर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिनुहुँदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरङ्ग सेवा लिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रले अहिले सेवा सञ्चालन भइरहेको भवन भक्तपुर अस्पतालको हो । केन्द्रको आफ्नै भवन छैन । केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म त्यो पूरा हुन सकेको छैन । पूर्वाधार अभावमा केन्द्रले अहिले पनि एक हजारभन्दा बढी मिर्गौला फेल भएका बिरामीलाई सेवा दिन नसकेर पालो कुर्नुपर्ने अवस्था छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अङ्ग प्रत्यारोपण केन्द्र हो ।