• ८ पुस २०८१, सोमबार

स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधानन्यायाधीश

blog

सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ११ गते । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ । सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने जानकारी दिनुभयो । उहाँले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नसक्ने बताउनुभयो । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उहाँले बताउनुभयो । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने धारणा औँल्याउनुभयो ।


‘‘यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरूलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ ।,’’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरू प्रविधिमा आबद्ध छन् । प्रविधिमा आबद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’’

प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रको जनशक्ति प्रयोग गरिएको बताउनुभयो । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।