• १९ असार २०८१, बुधबार

पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप

blog

एसिया कप क्रिकेट खेल्नका लागि पाकिस्तानमा प्रस्थान गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै क्रिकेटर सन्दीप लामिछाने । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ११ गते । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ । सोमबार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गर्नुभएको हो । उहाँलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ विमानस्थल पुग्नुभएको थियो ।

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताउनुभयो । उहाँले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, सदस्यसचिव घिसिङले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताउनुभयो । सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको उहाँको भनाइ छ । सदस्यसचिव घिसिङले सिङ्गो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्त्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिङ्गो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’’

नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।