सहदेव बस्नेत
जाजरकोट, भदौ ११ गते । जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
आयोजनाका प्रमुख केशव श्रेष्ठका अनुसार उक्त निर्माण कार्यको लागि सीइपएिल, एसपीआर, टुण्डी जेभीले दुई वर्ष भित्र सक्ने गरी सम्झौता गरेको जानकारी दिनुभयो । यदि उक्त रकम वाट केही क्षेत्रको काम बाँकी रहन गएमा नेपाल विद्युतिकरनको आन्तरिक बजेट वाट टेन्डर गरी जिल्लाको सम्पूर्ण घरधुरीमा विद्युतिकरण गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले आयोजना अन्तरगत ७२ किमी. ३३ केभी लाइन, १७० किमी. ११ केभी लाइन, ३ सय ५५ किमी, ४ सय भोल्ट लाइन विस्तार गरिने जानकारी दिनुभयो । त्यस्तै जिल्ला भरिमा १ सय ३५ वटा ट्रान्सफर्मर जडान गरिने जनाइएको छ ।
हाल जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सब स्टेसन निर्माण कार्य जारी छ । बारे कोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सब स्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिमको छेडा गाड, शिवालय र जुन चाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सब स्टेसनबाट काम हुने भएको छ ।
चौखाको सब स्टेसन निर्माणपछि मात्र ताक्सुगाड जलविद्युत आयोजनाको कामसँगै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणमा सघाउ पुग्ने छ । १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधै सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । अहिले चालु अवस्थामा रहेको ३२ केभी प्रसारण लाइन १३२ केभी प्रसारण लाइन विस्थापित हुनेछ ।
१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ । यता ४०० केभी प्रसारण लाइनका लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सब स्टेसनको कामसमेत यसै आर्थिक वर्षमा गर्ने बताएको छ । १३२ केभी प्रसारण लाइन र चार सय केभी प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणको भनाइ छ ।
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका सवै जिल्लामा तिन वर्ष विद्युतिकरण गर्ने लक्ष रहेको जानकारी दिनु भयो । जाजरकोटको तासुगाड र डोल्पाको जगदुल्ला जलविद्युत आयोजना को पनि निर्माण कार्य थालनी गर्ने जानकारी दिनुभयो ।