• १३ मंसिर २०८१, बिहिबार

चिनियाँ ट्रकमा नेपाली बसको यात्रा

blog

राजन रावत

हुम्ला, भदौ ११ गते । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।

यातायात व्यवसायी विजय लामाले पहिलो पटक सार्वजनिक यातायात हिल्सामा पु-याउनु भएको हो । हाललाई दुई वटा बस हिल्सामा ल्याइएका छन् । उहाँले कर्णाली कोरिडोरको हिल्सा–सिमकोट खण्डको ९५ किलोमिटर दूरीमा यातायात सेवा सञ्चालनका लागि बस ल्याइएको बताउनुभयो । बस चल्ने सडक भने कच्ची छ । 

उहाँले हुम्लावासीको माग अनुसार जिल्ला सदरमुकाम सिमकोटदेखि हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी बस ल्याइएको बताउनुभयो । हाल स्थानीयका बोलेरो जिपले उक्त सडक खण्डको सिमकोटबाट हिल्सासम्म रिजर्भ गर्दा पचास हजार रुपियाँ भाडा लिएर यात्रु ओसार्ने कार्य गर्दै आएका छन् । सो भाडा अनुसार प्रतियात्रु छ हजारभन्दा बढी पर्न आउँछ । उहाँले छोटै दूरीको यात्रा निक्कै धेरै महँगो रहेको र त्यसमा पनि भनेको बेला सवारी नपाइने समस्या रहेको बताउनुभयो  । यसअघि एउटा बस हिल्सा आइपुगेको थियो भने तीन दिनको यात्रापछि आइतबार साँझ अर्को बस पनि हिल्सामा आइपुगेको छ । 

अब ती बस हिल्साबाट सदरमुकाम सिमकोट छ घण्टामा पुग्ने छन् । उहाँले भाडा दर मिलाएर निर्धारण गरिने बताउनुभयो । २५ सिट क्षमताका दुई वटा बसको लागत करिब एक करोड रहेको व्यवसायी लामाले बताउनुभयो । 

बसको बडी सुर्खेतमा तयार गरिएको थियो । हिल्सा पुगेका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ । बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी उहाँको छ । हिल्सा नाकामा बस लिन सवारी चालक सिमकोटबाट हिल्सा पुगिसक्नु भएको छ । दुवै बस सिमकोटमा पुगेपछि चाँडै नियमित रूपमा सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ । 

चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि  ट्रकमा लोड गरी ल्याउनु परेको हो । हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गसँग जाडिएको छैन । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कर्णाली कोरिडोरको सलिसल्ला–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने छारेको चट्टानी भिरमा सडक निर्माण कार्य जारी रहेको बताउनुभयो । उहाँले अब सेनाले दुई सय मिटर भिर छिचोल्न बाँकी रहेको तर भिर अलि असजिलो भएका कारण काममा ढिलाइ भइरहेको बताउनुभयो ।