अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ १० गते । यही साउन २८ गते आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक संरचनामा भने निकै ठुलो क्षति पुर्याएको थियो । व्यापार एवम् कृषि पेसामा आबद्ध स्थानीयहरूको बाढीका कारण घर, पुल र गरिखाने बगैँचा तथा बारी नै बगरमा परिणत हुँदा अब हातमुख कसरी जोड्ने भनेर अन्यौलता परेका छन् ।
बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठुलो क्षति पुर्याएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पाती लगायतका फलफूल बोटमा क्षति पुगेको छ । कागबेनी क्षेत्रमा कृषकले लगाएका दुई सय ६५ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको नर्सरीमा रहेका ४५ बोट स्याउ नष्ट भएको छ ।
त्यस्तै, छ बोट खुर्पानी तथा चारवटा ओखरको बोट पनि नष्ट भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । पशुपालनतर्फ बाढीले ३२ वटा लुलु गाई, दुई वटा कुकुर, एउटा घोडा, दुई वटा खुसी मरेको छ भने २३ वटा गोठमा क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पशु शाखाकी प्राविधिक समीक्षा कठायतले जानकारी दिनुभयो । पशुचौपाया तथा त्यसको पालनको लागि बनाइएका संरचना हेर्दा झण्डै ५० लाख क्षति भएको कठायतले जानकारी दिनुभयो ।
हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, को पवित्र तीर्थस्थल कागबेनी बजारमा बाढीका कारण धेरै स्थानीयले अझै पनि आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कलाई आधार मान्दा कागबेनी क्षेत्रमा झण्डै एक अर्ब हाराहारीको क्षति भएको छ । बाढीले सडक, पुल, व्यक्तिका घर तथा सार्वजनिक भवन, धार्मिक भवन एवम् विद्यालय जस्ता भौतिक संरचनामा ठुलो क्षति भएको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलन गरेको क्षतिको विवरण अनुसार बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपियाँ बराबरको क्षति गरेको छ । बाढीले सार्वजनिक संरचनाहरू पक्की पुल, ढल निकास, अन्डरग्राउन्ड विद्युत केबल, बिजुलीको पोल, सिँचाइ कुलो, काठको पुल, खानेपानी, मन्दिर, धर्मशाला, सडक,तटबन्धन जस्ता १४ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रूपमा क्षति भएको थियो ।