• २४ वैशाख २०८१, सोमबार

क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु

blog

रजनी याेगी

सुर्खेत, भदौ १० गते । स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ । अस्पतालमा विगत केही वर्षदेखि क्षमताभन्दा बढी शय्याबाट सेवा प्रवाह भइरहेको हो । 

अस्पतालको क्षमता १५ शय्याको भए तापनि अहिले ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ । भौतिक संरचनाले बिरामीको चाप थेक्न सक्ने अवस्था छैन । तर बिरामीको चाप बढ्दै गएपछि भने शय्या सङ्ख्या बढाएर सेवा दिइरहेको कार्यालयका निमित्त प्रमुख डा. कमल ढुंगानाले जानकारी दिनुभयो । "अस्पतालको क्षमता १५ शैय्याको हो, तर ४० शैय्याबाट सेवा दिईरहेका छौं," उहाँले भन्नुभयो, "सरकारले ५० शय्याबाट सेवा दिने भनेको छ । त्यो अनुसारको पूर्वाधार निर्माण हुनसकेको छैन ।" जनशक्ति र भौतिक संरचनाको अभावमा अस्पतालले सेवा दिँदै आएको छ । 

हाल जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ । दैनिक सरदर सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्छन् । अस्पतालको भवन नयाँ भए पनि १५ शैय्याका लागि पूर्वाधार निर्माण गरिएकाले सेवा प्रवाहमा समस्या भएको हो । उहाँले भन्नुभयो, "अस्पतालको पाँच वर्ष पहिले बनेको भवन छ । त्यो १५ शय्याको अस्पताल सञ्चालन गर्नका लागि हो र तर अहिले ४० शय्याबाट सेवा दिँदा समस्या भएको छ । सेवा बढेसँगै भवन पनि थप्नुपर्ने देखिएको छ ।" अस्पतालमा जटिल खालको समस्या भएका महिलाको अप्रेसन गरेर सुत्केरी बनाउने सेवा पनि छ । 

आवश्यक भवन अभावमा अस्पतालको सेवा प्रवाह भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँका अनुसार क्षमताभन्दा बढी शय्याबाट अस्पतालले सेवा दिइरहेको छ । प्रदेश सरकारले उक्त अस्पताललाई ५० शय्याबाट सञ्चालन गर्ने भनिए तापनि पूर्वाधार निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ,‘सेवा विस्तार गर्नका लागि भवन पर्याप्त छैन । प्रदेश सरकारलाई भवनको स्तर वृद्धिका लागि भनेका छौं ।’ अहिलेको संरचनाले १५ शय्याबाट सेवा दिन मात्र पर्याप्त हुन्छ तर ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।

विशेषज्ञ डाक्टरविहीन अस्पताल

स्वास्थ्य सेवा कार्यालय मुगुमा नवौं तहका स्थायी चिकित्सक छैनन् । जसले गर्दा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ । जटिल खालको रोगका बिरामी जुम्ला र नेपालगञ्ज जानुपर्ने बाध्यता अझै हटेको छैन । अस्पतालमा स्वीकृत दरबन्दी ४४ जनाको हो । अहिले २६ जना कार्यरत छन् । १८ दरबन्दी रिक्त छ । त्यसमध्ये चार जना विशेषज्ञ डाक्टरको दरबन्दी हो । 

दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । यसैगरी चार जनाकै दरबन्दी रहेको मेडिकल अधिकृतमा एक जना मात्रै स्थायी दरबन्दीका कर्मचारी छन् । अन्य तीन जना मेडिकल अधिकृत करारका हुन् । निमित्त प्रमुख डा. ढुङ्गानाले भन्नुभयो,  "अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । करारका कर्मचारी २७ जना हो । त्यो पनि तल्लो तहको। सेवा प्रवाह गर्न निकै समस्या भइरहेको छ ।"

उहाँले नवौं तहका चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय सरकारसँग पटकपटक माग गरे पनि बेवास्ता भएको गुनासो गर्नुभयो । उहाँका अनुसार करार सेवामा कार्यरत कर्मचारी तल्लो तहका धेरै छन । अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति अभावका कारण सेवा दिन समस्या हुने गरेको छ । 

जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पतालले अभावकै बीच सेवा प्रवाह गरिरहेको हो । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा नागरिक स्वास्थ्य सेवा पाउनबाटै वञ्चित भइरहेका छन् । जटिल रोगको उपचार गर्न महङ्गो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचना र जनशक्तिको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।