• १३ जेठ २०८१, आइतबार

हाटबजारमा मही सेवन गर्ने अभियान

blog

काठमाडौँ, भदौ १० गते । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । 

प्रमुख अतिथि पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पाको उपस्थितिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने छ । यो अभियानले युवा पुस्तामा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको एसोसिएसनका अध्यक्ष दाहालले बताउनुभयो । अब प्रत्येक हप्ता लाग्ने हाटबजारमा बिहान ६ बाट बिहान १२ भित्र सबै जना उपस्थित भई रैथाने कृषि सामग्री अवलोकन गर्ने कार्यक्रम हुँदै आएको छ । 

एसोसिएसनले आफैँ सुरुवात गरेको यो अभियान ठुलो अभियानकर्ता रैथानेसँग जोडिएर गर्न लागेकाले यसले थप प्रोत्साहन प्राप्त हुने उहाँले बताउनुभयो । रैथाने एग्रोका अध्यक्ष ढकालले यो सम्झौताले रैथाने बाली र खाद्यान्नमा विकास हुने बताउनुभयो । उहाँले आफ्ना सन्ततिले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका लागि अहोरात्र खटिएको बताउनुभयो । पूर्वमन्त्री शेर्पाले रैथाने किसिमका सम्पूर्ण वस्तु बजारमा यथेष्ट रूपमा उपलब्ध गराउन अझ जुझारु तरिकाले लाग्न सुझाव दिनुभयो । पर्यटन र संस्कृति बचाउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्सले ठुलो भूमिका खेलेको बताउनुभयो ।