• ७ जेठ २०८१, सोमबार

पचपन्न खर्ब अठार अर्ब रुपियाँ कारोबारमा आधारित तरलता प्रवाह

blog

काठमाडौँ, भदौ १० गते । आर्थिक वर्ष २०७९/८० मा कुल ५५ खर्ब १८ अर्ब १९ करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस्तै रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब गरी कुल एक खर्ब आठ अर्ब २० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०७९/८० मा रिपोमार्फत चार खर्ब १४ अर्ब ४७ करोड रुपियाँ, सोझै खरिदमार्फत ८९ अर्ब ७० करोड रुपियाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड रुपियाँ र ओभर नाइट तरलता सुविधामार्फत २२ खर्ब ८६ अर्ब ९० करोड रुपियाँ गरी कुल ५५ खर्ब १८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत पटक पटक गरी खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड रुपियाँ तरलता प्रवाह भएको थियो । 

समीक्षा वर्षमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । 

अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।

आव २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपियाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब नौ करोड रुपियाँ साँवा भुक्तानी गरेको छ । 

यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रुपियाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ उत्पादनको २.६ प्रतिशत हुन आउने राष्ट्र बैङ्कले जनाएको छ ।

यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरेको छ । २०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपियाँ पुगेको छ । जसमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपियाँ रहेको छ ।

आव २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।