मुना हमाल
सुर्खेत, भदौ ८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जल्याण्ड जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकार संस्था (जुरिज) को आयोजनामा हुने वित्तीय, सामाजिक, मानवता नीजि, सहकारी, समुदाय र हरितसम्बन्धी कार्यक्रममा भाग लिन उहाँ स्वीट्जल्याण्ड जान लाग्नुभएको हो ।
आफ्नो विदेश भ्रमणबारे शुक्रबार बसेको प्रदेश सभा बैठकमा जानकारी दिँदै यही सेप्टेम्बर १ र २ (भदौ १५ र १६ गते) तारिखमा आयोजना हुने कार्यक्रममा भाग लिन मुख्यमन्त्री शर्मा त्यहाँ जान लागेको बताउनुभयो ।
सो कार्यक्रममा कर्णालीसँग सहकार्य गर्नका लागि छलफल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो विपन्नता, अपुग, समस्या समाधान कसरी गर्ने भनेर लागिपरिरहेका छौं । अन्य देशहरुसँग पनि सहयोग जुटाउन लागिरहेका छौँ ।’ उहाँले प्रदेश सभामा बोल्दै प्राकृतिक विपद्लगायतका समस्यामा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।