• २२ असार २०८१, शनिबार

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

blog

काठमाडौं, भदौ ८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याउनुभएको छ । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुण दलका नेताहरुसँग आज (शुक्रबार) भएको छलफलमा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राख्नुभयो ।

“पार्टीका भ्रातृ सङ्गठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस्”, उहाँले भन्नुभयो ।

युवा कांग्रेसलाई भ्रातृ सङ्गठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यावहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उहाँको अवधारणा छ ।

“पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विसं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा सङ्कट देखिँदा २०५४ सालमा तरुण दल ब्युँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिनुभयो ।

“विसं २०५१ सालपछि पार्टीमा सङ्कट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । विसं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले पनि पार्टीमा सङ्कट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई सङ्कटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँछु ।”

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत त्यसको उठान गर्न सकिने उहाँको विश्वास छ । राजनीतिक दलका नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने तालिम केन्द्रका रुपमा युवा कांग्रेसलाई विकास गर्न सकिने उहाँको भनाइ छ । उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि पनि युवा कांग्रेस पार्टी प्रवेशको द्वार बनाउन सकिने बताउनुभयो । रासस