• १३ साउन २०८१, आइतबार

अठतिस रुपियाँमै स्वास्थ्य परीक्षण

blog

लीलाधर वली

घोराही, भदौ ८ गते ।  सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न धेरैले न्यूनतम तीनदेखि छ सय रुपियाँसम्म तिर्ने गरिएको हुन्छ। अब भने सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्दा त्यति धेरै रकम तिर्नुपर्ने छैन। 

यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले कार्यालयमा ३८ रुपियाँमै स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र पाउने व्यवस्था गरिदिएको छ। जसले गर्दा महँगो रुपियाँ तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने बाध्यता हटेको छ। यातायात व्यवस्था कार्यालयले भदौ ७ गतेदेखि नै कार्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ। यातायात व्यवस्था कार्यालय प्रमुख रमेश गौतमले महँगो रकम तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने सेवाग्राहीको बाध्यता हटाउन सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो। उहाँका अनुसार सवारीचालक अनुमतिपत्र प्राप्त तथा चालक अनुमतिपत्र बनाउनु परेमा नेपाल सरकारद्वारा मान्यताप्राप्त चिकित्सकले दिएको स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने गर्दछ । 

कार्यालयमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा यसअघि निरोगिताको प्रमाणपत्रका लागि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता थियो। त्यसबापत उनीहरूले तीन सयदेखि पाँच सय रुपियाँ तिर्नुपर्ने बाध्यता थियो तर भदौ ७ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणसम्बन्धी सेवाबापत ३८ रुपियाँ दस्तुर लिई कार्यालयबाटै सेवा उपलब्ध गराउन थालेको कार्यालय प्रमुख गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “कार्यालयमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा महँगो रकम तिरेर बाहिर सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता थियो तर अब त्यो समस्याको अन्त्य भएको छ।” कार्यालयले निरोगिताको प्रमाणपत्रका लागि नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा दिन सुरु गरेको हो। 

यातायात व्यवस्था कार्यालयले यसका लागि सार्वजनिक सूचना आह्वान गरेर निरोगिताको प्रमाणपत्रका लागि प्रस्तावना मागसमेत गरेको थियो । जसमा पाँच जना डाक्टरले प्रस्ताव दर्ता गराएका थिए । यीमध्येबाट एक जना डाक्टरलाई छनोट गरेर बिहीबारदेखि सेवा दिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो पहिलो प्राथमिकता सेवालाई सहज बनाउने हुन्छ, जस अन्तर्गत पहिलो पटक कार्यालयभित्रैबाट स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिन सुरुवात गरेको छु।”  उहाँले अब जनगुनासो सम्बोधन गरेर सहज रूपमा सेवा दिने बताउनुभयो। कार्यालय प्रमुख गौतमले सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा बढी रकम लिने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै त्यसलाई पनि सुधार गर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्रको परीक्षाको दिनमा पनि धेरै रकम लिएर गाडी भाडामा लगाउने गरेको गु्नासो छ । अब त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा मेरो ध्यान हुने छ।”