प्रनिश गिरी
कुस्मा (पर्वत), भदौ ८ गते । पर्वतको दुई नगरपालिकामा राजनीतिक स्वार्थका कारण नगर सभा कहिले हुने भन्ने अझै टुङ्गो लागेको छैन । पटकपटक मिति तोके पनि नगरपालिकाले नगर सभा गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगर सभा सम्पन्न भइसक्नुपर्ने भए पनि जिल्लाका कुस्मा र फलेवास नगरपालिकामा आर्थिक वर्षको पहिलो चौमासिक बजेट प्रभावित हुँदासमेत नगर सभा भएको छैन ।
नगर सभा हुन नसक्दा बजेट र कार्यक्रममार्फत जनतालाई दिनुपर्ने अत्यावश्यक सेवा प्रभावित बनेको छ । वार्षिक योजना र कार्यक्रमभन्दा बाहिरबाट व्यक्तिगत स्वार्थमा गत वर्ष गरिएका कार्यक्रमलाई अहिलेको वर्ष बजेट विनियोजन गर्न खोजिएपछि विवाद सिर्जना भई नगर सभा हुन सकेको छैन ।
बजेट विनियोजन विषयको विवादकै कारण कार्यपालिका बैठकमा वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रतिवेदन भदौ महिनाको दोस्रो हप्ताका लागि सक्दासमेत पेस हुन नसकेको हो ।
नगर सदस्यले आआफ्नो स्वार्थ अनुसार बजेट र योजनाको माग गर्न छाडेका छैनन् । लामो समयसम्म नगर सभा सम्पन्न हुन नसकेपछि कार्यकारी प्रशासकीय अधिकृत चण्डिकाप्रसाद पौडेलले सरुवा भई रमाना लिइसक्नुभएको छ । अधिकृत पौडेल भन्नुहुन्छ, “वार्षिक बजेट र कार्यक्रमभन्दा बाहिरबाट हचुवाका भरमा आएका योजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न हुँदैन । यो कुरा नगरपालिकाका प्रमुखका साथै सबै नगर सभा सदस्यले बुझेर सहमतिमा आउनु हुने छ ।”
नेपाली कांग्रेसका रामचन्द्र जोशी कुस्मा नगरपालिका प्रमुख भए पनि नगर सभामा उपप्रमुखसहित बहुमत सदस्य नेकपा एमालेका छन् । बहुमत सदस्यले नगर प्रमुख जोशी प्रक्रियागत ढङ्गले अगाडि आउन नचाहेको र एकलौटी रूपमा बजेट बाँडफाँट गर्न खोजेको आरोप लगाएका छन् । प्रमुख जोशीको भने बहुमतको आडमा आफूलाई काम गर्न नदिएको गुनासो छ । नियमानुसार आगामी आवको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने हुन्छ । वडास्तरबाट तर्जुमा भई आउनुपर्ने प्रायजसो विकासका योजना र कार्यक्रम नगरपालिकाको विषयगत समितिसम्म नै आइपुगेका छैनन् ।
नगर सभा हुन नसकेपछि नगरपालिकाले आव ०८०/८१ का लागि आयव्ययको हिसाबकिताब राख्न सकेको छैन । कुस्मा नगरपालिकाका सूचना अधिकारी धु्रवराज पौडेलका अनुसार १४ वटै वडालाई आम्दानी र व्ययको कुनै पनि कारोबार नगर्न भनी पत्राचार गरेको पनि दुई महिना हुन लागिसकेको छ ।
सूचना अधिकारी पौडेल भन्नुहुन्छ, “कार्यालयको दैनिक सञ्चालनका लागि चाहिने स्टेसनरी सामग्रीदेखि नगरपालिकाले जनताको अत्यावश्यकीय सेवाका साथै दैवीप्रकोपका लागि खर्च गर्नुपर्ने बजेट छैन । बजेट नहुँदा नगरपालिकाले औषधी किनेर दिन सक्ने अवस्था छैन तर नगरपालिकाले नागरिकलाई दिने दैनिक सेवा जस्तो जन्मदर्ता, नाता प्रमाणित, चार किल्ला सिफारिस जस्ता सेवा प्रदान गर्ने व्यवस्था भने मिलाइएको छ ।” स्थानीय जनताको प्राथमिकताको आधारमा वडा तहबाट नै विकासको योजना तर्जुमा भई विषयगत समितिमा ल्याइनुपर्नेमा पालिकाको अधिकांश वडामा वडास्तरीय योजना तर्जुमा हुन सकेको छैन । कुस्मा नगरपालिकाको आव २०७८/७९ सम्मको फस्र्योट हुन बाँकी बेरुजु रकम १९ करोड पाँच लाख रुपियाँ छ ।
जिल्लाको फलेवास नगरपालिकाले पनि आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेटको तयारी कार्यपालिका बैठकमा पेस गर्न सकेको छैन । नगरपालिकाको यसअघिको क्लिन सिटी, ग्रिन सिटी कार्यक्रमलाई अगाडि बढाउने या नबढाउने भन्ने विषयमा नगर सदस्यबिच विवाद रहँदै आएको थियो ।
उपप्रमुख शोभा क्षेत्रीले यो विषयमा सहमति भएको बताउनुभयो । उहाँले आफूले महिला कृषकको हितमा उठाउँदै आएको मागलाई भने बेवास्ता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक उपप्रमुख रहने व्यवस्था भए पनि नगर प्रमुखले बेवास्ता गरी एकतर्फी अगाडि बढ्न खोज्नु भएको छ ।
माटोमा श्रम र पसिना खर्चिने न्यून आय भएका कृषकको हितमा कृषि कार्यक्रम ल्याउनु पर्छ भन्दा प्रमुखले बेवास्ता गर्नु बल मिच्याइँ हो ।” फलेवास नगरपालिकाको आव २०७८/७९ सम्मको फस्र्योट हुन बाँकी बेरुजु रकम १३ करोड ६४ लाख रुपियाँ रहेको छ ।