रामेछाप समाचारदाता
रामेछाप, भदौ ८ गते । रामेछाप नगरपालिका–८, माथिल्लो बाबियाखर्कमा ३६ लाख लिटरभन्दा बढी क्षमताको प्लास्टिक पोखरी उपयोगमा आउन सकेको छैन । २७ वर्षअघि निर्माण गरिएको यो प्लास्टिक पोखरी आकासे पानी नजमेपछि अहिलेसम्म प्रयोगमा आउन नसकेको हो ।
डेनिस दूतावासको सहयोगमा मलाया गिरी विकास केन्द्रमार्फत २०५४ सालमा ४० लाख रुपियाँ लागतमा बनेको यो पोखरी अहिलेसम्म प्रयोगमा नआएको स्थानीय बद्रीप्रसाद घिमिरेले बताउनुभयो । “पाँच सय रोपनी जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ बाबियाखर्कको टुप्पोमा नेपालमै नयाँ प्रविधिका रूपमा प्लास्टिक पोखरी बनेको थियो । पोखरी बनेपछि स्थानीय खुसी भएका थिए तर पानी नजमेपछि अहिलेसम्म पोखरी प्रयोगमा आएको छैन,” उहाँले भन्नुभयो । लामो समयदेखि अलपत्र बनेको पोखरीबारे स्थानीय सरकारले पनि चासो नदिएको स्थानीय पार्वती पाठकको गुनासो छ । “अति सुक्खाग्रस्त क्षेत्र बाबियाखर्कमा आकासे पानीलाई सङ्कलन गरेर पाँच सय रोपनी जमिन सिँचाइ गरी तरकारी उत्पादन गर्ने उद्देश्यले यो पोखरी बन्यो तर पोखरी अहिलेसम्म प्रयोगमा नआउनु दुःखद कुरा हो,” उहाँले भन्नुभयो । ५० वर्ष आयु भएको प्लास्टिक प्रयोग गरी त्यसमाथि माटो राखेर पोखरी निर्माण गरिएको छ । यो पोखरी ६० मिटर लम्बाइ, २० मिटर चौडाइ र तीन मिटर गहिरो छ ।