• ८ साउन २०८१, मङ्गलबार

लेबनानमा श्रमिक लैजाने प्रस्ताव

blog

काठमाडौँ, भदौ ८ गते ।  लेबनानमा नेपाली श्रमिकका लागि धेरै क्षेत्रमा अवसर रहेकाले श्रमिक लैजाने प्रस्ताव आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलबिच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा सो लेबनानका तर्फबाट यस्तो प्रस्ताव आएको हो । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीका लागि मस्यौदा बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताउनुभयो । 

भेटका क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर रहेको र केही श्रमिकलाई लैजान सकिने बताउनुभयो । मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रम समझदारी गरेर नेपाली श्रमिक पठाउने विषयमा श्रममन्त्री भण्डारी र महावाणिज्यदूत गोजाएलबिच कुराकानी भएको जानकारी दिनुभयो । 

श्रम समझदारीको मस्यौदा तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल एक हजार दुई सय नेपाली छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु श्रमिक लैजाने प्रस्ताव गरेको हो । 

त्यस्तै निर्माण क्षेत्रका लागि समेत श्रमिक लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएको छ । त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको हो । ठुल्ठुला होटल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली श्रमिक लैजाने प्रस्ताव आएको सहसचिव पोखरेलले जानकारी दिनुभयो । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७० हजार बढीले श्रम स्वीकृति लिएकामा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएका छन् ।