• २ जेठ २०८२, शुक्रबार

बागमती प्रदेशमा भाडा समायोजन

blog

फाइल तस्बिर

राममणि दाहाल

हेटौँडा, भदौ ७ गते । बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै प्रदेश सरकारले भाडा समायोजन गर्दै बिहीबारबाट लागू हुने गरी यात्रुबाहक सार्वजनिक सवारीका साधन र मालवाहक सवारीका साधनको भाडा दर समायोजन गर्दै वृद्धि गरेको हो । 

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बिहीबारबाट लागू हुनेगरी उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाभित्र चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरी समायोजन गरिएको छ ।

प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा निर्धारण÷समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गत साउन ३१ गतेनै भएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर ३.४४ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन ७.७७ प्रतिशतले वृद्धि भएको छ । 

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीका साधनको भाडा किमिअनुसार एक रुपियाँदेखि तीन रुपियाँसम्म वृद्धि भएको छ । यसअघि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेश सरकारले गत साउन ११ गते भाडा समायोजन गर्दै प्रदेशभित्र चल्ने लामो दुरीका सवारी साधन, मालबाहक सवारी साधन र उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घटाएको थियो । 

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय ।