अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ८ गते । हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ ताङ्वे गाउँमा खानेपानीको अभाव भएको छ । गएको आइतबार राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाइ कुलो बगाएपछि खानेपानीको अभाव भएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ का अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको हाे । ४५ घरधुरी रहेको ताङ्वे गाउँमा खानेपानीका साथै सिंचाइ सुविधा पनि अवरुद्ध बनेको छ । एकै ठाउँबाट आएको पानीलाई शुद्धीकरण गरेर पिउन प्रयोग हुने भए पनि अहिले मुहानै बगाएको हुँदा समस्या भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट खानेपानीको लागि बजेट परेको थियो तर काम हुन नपाउँदै मुहानै बगायो ।”
उहाँका अनुसार गएको वर्ष पनि दशैंको समयमा परेको अविरल वर्षाले खानेपानी बगाएपछि २५ लाखको लागतमा मर्मत गरी सञ्चालन गरिएको थियो अहिले पुनः बगायो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तोङ्वे र ग्रीन ताङ्वे गाउँबीचको ठाडो खोलाले ताङ्वे गाउँको खानेपानी र सिंचाइ कुलोमा ठूलो क्षति पुर्य ाएको थियो । ताङ्वे खोलाको बाढीले गाउँको खानेपानी र सिंचाइको संयुक्त मुहान र कुलो बगाएपछि त्यहाँको करिब छ सय ५० रोपनी जमिनमा लगाएको स्याउ, फापर, आलुलगायतका बाली सिंचाइ अभावमा सुख्खा भएर मर्ने अवस्था पुगेको वडा सदस्य कुन्जाङ्वा गुरुङले बताउनुभयो ।
सदस्य गुरुङका अनुसार ताङ्वे गाउँमा एउटै मुहानबाट खानेपानी र सिंचाइको व्यवस्था हुँदै आइरहेकोमा अहिले पानीको सङ्कट हुन थालेको छ । “मुहान बाढीले बगाएपछि पानी आउन छाड्यो तत्काल अर्को व्यवस्था भएन भने अर्को गाउँ गएर खानेपानीको व्यवस्था गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
ताङ्वे खोला बाढीले खानेपानी बगाएपछि वडा सदस्य कुन्जाङ्वो गुरुङसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ । बाढीले खानेपानी र सिंचाइको संयुक्त मुहानसहितको कुलो भएकाले खानेपानीको अभाव भएको जानकारी गराएका थिए । तत्कालका लागि वैकल्पिक व्यवस्थाको लागि पहल गरिदिन समेत प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई ध्यानाकर्षण गराइएको छ । प्रजिअ केसीले ज्ञापन बुझाएपछि प्राविधिक टोलीलाई स्थलगत निरीक्षणका लागि खटाइएको जानकारी दिनुभयो ।