• १२ साउन २०८१, शनिबार

सावधान हुनुहोस् : शापु रोगले दृष्टि गुम्न सक्छ

blog

काठमाडौं, भदौ ७ गते । पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ । पछिल्लो समय कन्जंक्टिभाइटिकको कारणले आँखा पाक्ने रोग दशैभर प्रकोपका रूपमा बढ्दैगएकाले त्यसबाट बच्न ध्यान दिन चिकित्सकहरूले सुझाव दिनुभएको छ । आँखा रातो हुने समस्या कन्जंक्टिभाइटिकको कारणले मात्र नभई अन्य विभिन्न कारणले हुने चिकित्सकको भनाइ छ ।  

नेत्र रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले यो मौसममा शापुको कारणले गर्दा पनि आँखा रातो हुने बताउनुभयो । सिटौलाका अनुसार शापु रोग प्रायः भदौदेखि मङ्सिर महिनासम्म लाग्ने गर्छ । यो मौसममा विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापु महामारीको रूपमा देखिनेगरेको छ । 

के हो शापु रोग 

चिकित्सकका अनुसार शापु एक दृष्टिनाशक रोग हो । डा. खरेल सिटौलाले हालसम्म  शापु रोगको कारक यही नै हो भनेर यकिन नभए पनि शापु सेतो पुतली (मोथ) जसको जिउमा कालो धर्सा र पहेँलो पुच्छर भएको पुतलीका कारणले शापु रोग निम्तने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “सबै सेतो पुतलीका कारण शापु हुँदैन । जिउमा कालो धर्का भएको सेतो पुतली जसको पुच्छर पहेँलो हुन्छ, त्यस्तो पुतलीको संसर्गबाट शापु रोग लाग्ने गर्छ ।” सेतो पुतली प्रायः रातिको समयमा बढी देखिने गर्दछन् । यस्ता पुतली सेतो बत्ती बालेको ठाउँमा बढी झुमिने गर्दछन् ।  

डा. सिटौलाका अनुसार शापु रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ । उहाँले भन्नुभयो, “यो रोग सबै उमेरमा देखिने भए पनि विशेषगरी बालबालिकामा बढी देखिन्छ ।” कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएकामा पनि यस्तो समस्या देखिने उहाँको भनाइ छ । पुतलीबाहेक यो समस्या साथै अन्य कारणमा सूक्ष्म जीवाणु वा अन्य विषालु पदार्थका  कारणले शापु रोग लाग्ने गर्छ ।  

समयमा उपचार गर्न सुझाव 

डा. सिटौलाका अनुसार शापुरोग समयमै उपचार भएमा पूर्ण रूपमा निको हुनेगर्छ । यदि उपचारमा ढिला गरेमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । त्यसैले लक्षण देखिन थालेपछि वा रोग लागेको शङ्का लागेमा तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ ।” आँखा रातो भयो भनेर आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न उहाँको सल्लाह छ । 

लक्षण के–के हुन् 

डा. सिटौलाका अनुसार एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखा दुख्नु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्काल कमी हुनु यो रोगका प्रमुख लक्षण हुन् । यो रोग एउटा आँखामा मात्र देखिने तर अर्को आँखामा नसर्ने नेत्ररोग विशेषज्ञ बताउँछन् । 

के छ उपचार 

समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने चिकित्सकको भनाइ छ । उहाँले भन्नुभयो, “यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ । आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ । समयमा नै उपचार भएमा आँखा निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।” 

रोकथाम कसरी गर्ने 

सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राती झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्न नेत्ररोग विशेषज्ञको सुझाव छ । 

जथाभाबी आँखामा हात नलैजाने, आँखा छुनुपरेमा राम्ररी साबुन पानीले हात धोएर मात्र छुन चिकित्सकको सुझाव छ । आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने चिकित्सकको आग्रह छ । आँखामा कुनै पनि समस्या देखिएमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम उपचार गर्ने नेत्ररोग विशेषज्ञको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।