• ११ पुस २०८१, बिहिबार

सिआईबीमाथि नै हस्तक्षेप भएपछि उच्चस्तरीय छानबिनको माग गर्नुपर्‍यो : योगेश भट्टराई

blog

प्रतिनिधि सभाको बैठकमा बुधबार धारणा राख्नुहुँदै नेकपा (एमाले) सांसद योगेश भट्टराई ।

काठमाडौं, भदौ ६ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सुन तस्करी छानबिनका लागि सरकार आफैँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाउनुभएको छ।

सचिव भट्टराईले सिआईबीले अनुसन्धानको कामलाई ठीक ढङ्गले अघि बढाउने तर सरकारले त्यसलाई हस्तक्षेप गर्ने कामलाई निरन्तर अघि बढाएपछि आफ्नो पार्टीले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन माग गर्नुपरेको बताउनुभयो। 

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सिआईबीमाथि आफ्नो पार्टीले विश्वास नगरेको भन्ने कुरा सही नभएको पनि पटक-पटक दोहो¥याउनु भयो। 

सचिव भट्टराईले सुन तस्करी छानबिन, ललिता निवास प्रकरणमा सिआईबीले थालेको अनुसन्धान ठिक ठाउँमा पुग्ने तर सरकारले त्यसलाई हस्तक्षेप गर्ने काम गरिरहेपछि आफ्नो पार्टीले त्यसको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने अडान लिनुपरेको बताउनुभयो। 

उहाँले सिआइबीसँग आफ्नो पार्टीको सम्बन्ध बिगार्ने प्रयास सत्तापक्षले गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो। सचिव भट्टराईले ढिलै भए पनि सरकार आफ्नो पार्टीको माग अनुसार सो आयोग गठन गर्न सहमत भएको दाबी गर्दै धन्यवादसमेत व्यक्त गर्नुभयो। सचिव भट्टराईले प्रहरीको अनुसन्धानको काममा हस्तक्षेप गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो।