• १४ मंसिर २०८१, शुक्रबार

प्याजको मूल्य एक सातामै दोब्बर

blog

राधाकृष्ण डुम्रे

वालिङ, भदौ ६ गते । स्याङ्जामा प्याजको मूल्य दोब्बरले बढेको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपियाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपियाँसम्म विक्री गरिएको छ । 

६० रुपियाँदेखि ६५ रुपियाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासि वृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । एक हप्तादेखि जिल्लामा प्याज नभित्रिएको मौका छोपी स्थानीय विक्रेताले मनोमानी रूपमा प्याजको मूल्य बढाएको उपभोक्ताहरूले गुनासो गरेका छन् । 

गत शनिबारदेखि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले प्याज निकासीमा ४० प्रतिशत निर्यात महसुल लगाएपछि विक्रेताले गोदामै रहेको प्याजको मूल्य एकाएक बढाएका हुन् । व्यवसायीले एकलौटी रूपमा मूल्य बढाएका उपभोक्ताको आरोप छ । जिल्लामा दैनिक कति प्याज खपत हुन्छ कुनैपनि निकायसँग त्यो यकिन तथ्याङ्क छैन ।

केही दिनअघि चामलको मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा पारेका व्यवसायीले फेरि प्याजको मूल्य बढाएर उपभोक्तालाई आक्रान्त बनाएको राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनुभयो । पछिल्ला दिन खाद्यान्न विक्री वितरणमा बिचौलिया र कालोबजारी गर्नेहरू मौलाएको उहाँको आरोप छ । 

व्यवसायीले मनोमानी रूपमा खाद्य वस्तुमा एकपछि अर्को मूल्य वृद्धि गरेपनि बजार अनुगमनको अख्तियार प्राप्त स्थानीय निकाय चुपचाप छ । बजार अनुगमन गर्दै अस्वाभाविक मूल्य वृद्धिलाई रोक्नुपर्ने निकाय नै चुपचाप भएपछि उपभोक्ता मूल्य वृद्धिको चपेटामा पर्दै आएको मञ्चका अध्यक्ष मरासिनीले गुनासो गर्नुभयो । 

स्थानीय पालिकाले पाएको अनुगमन तथा दण्ड जरिवानाको अधिकारलाई कडाइका साथ कार्यान्वयनमा नल्याएसम्म उपभोक्ता मूल्य वृद्धिको चपेटामा निरन्तर पर्ने मरासिनीको भनाइ छ । बजारबाट आएको मूल्य वृद्धिको गुनासोलाई मध्यनजर गर्दै आवश्यकताको आधारमा बजार अनुगमन गर्ने पालिकाहरूले जनाएका छन् ।  

करिब एक हप्ताअघि प्रतिकेजी ६४ रुपियाँमा खरिद गरेको प्याज पछिल्लो दिन एक सय १० रुपियाँसम्म विक्री गर्दै आएको स्थानीय व्यवसायीले बताउनुभयो । केही दिनदेखि बजारमा प्याज नआएपनि गोदामै रहेको प्याज विक्री गर्दै आएको समेत उहाँले सुनाउनुभयो । 

अस्वाभाविक रूपमा प्याजको मूल्य वृद्धि गरिएको जानकारी आएकाले तत्काल बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ् बजारका व्यवसायीले मनोमानी रूपमा प्याजको मूल्य बढाएको स्थानीय उपभोक्ताले आरोप लगाए । ग्रामीण बजारको तुलनामा सहरी क्षेत्रका व्यवसायीले अचाक्ली मूल्य बढाएको उहाँहरूले बताउनुभयो ।