साधन घर्ती
म्याग्दी (दरबाङ), भदौ ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङबासी एक महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । गत असार २८ गते अविरल वर्षासँगै खसेको पहिरोले मरेनीस्थित दरखोला दोस्रो जलविद्युत परियोजनाको विद्युत गृह बगाउँदा विद्युत आपूर्ति बन्द भएको हो ।
४२ किलोवाट क्षमताको लघुजल विद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरू पहिरोले बगाएको छ । विद्युत आपूर्ति बन्द हुँदा स्थानीयवासी टुकी र सोलारको भरमा दैनिकी गुजारा चलाउँदै आएका छन् ।
विद्युत गृहभन्दा माथिको पाखोबाट विद्युत गृहको भवन र विद्युतका उपकरणहरू पहिरोसँगै दरखोलामा मिसिएको लघु जलविद्युत परियोजना व्यवस्थापन समितिका अध्यक्ष भक्त सिंकिजाले बताउनुभयो । "एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ," उहाँले भन्नुहुन्छ, "विद्युत आपूर्ति बन्द हुँदा लुलाङ, खोरीया, मेरनी र लमसुङका करिब ५ सय घरधुरी अन्धकारमा बस्न बाध्य छौँ । विद्युत नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न समस्या भएको छ ।"
साथै घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएको परियोजना व्यवस्थापन समितिका अध्यक्ष सिंकिजाले बताउनुभयो । उहाँका अनुसार पहिरोले विद्युत गृह र उपकरण बगाउँदा करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
"एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ । फेरी पहिरोले परियोजनामा ठुला क्षति पुर्यायो । गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ”, वडाध्यक्ष अकप्रसाद विकले भन्नुभयो । परियोजना पुनः निर्माण गर्न तत्कालीन समयमा गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपियाँमा परियोजना पुनः निर्माण गरिएको थियो ।
केन्द्रीय विद्युत लाइन नपुगेको लुलाङका स्थानीयहरू लघुजल विद्युत परियोजनाबाट उत्पादित बिजुली उपभोग गर्दै आएका छन् । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । जलविद्युत परियोजना पुनः निर्माण गरी सुचारु गराउन पहल थालिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
"प्राविधिकको स्टेमेट अनुसार विद्युत सुचारु गर्न साढे १२ लाख रुपियाँ आवश्यक पर्दो रहेछ । गाउँपालिकामा तत्काल पर्याप्त बजेट नहुँदा प्रदेश, सङ्घ सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्यमा पुनः निर्माण गर्नेगरी पहल भइरहेको छ," अध्यक्ष पुनले भन्नुभयो, “बजेटको सुनिश्चितता भयो भने उपकरणहरू खरिद गरी अस्थायी रूपमा भएपनि भदौ महिनाभित्र बत्ती बाल्नेछौँ ।"
२०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।
विद्युत अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या हुने गरेको छ । गाउँपालिका-२, लमसुङ-मरेनी-जलजला-गुर्जाघाट र सोही वडाको लुलाङ-गुर्जा-रुघाचौर र गुर्जाघाट हुँदै ढोरपाटन पुग्न सकिन्छ ।