काठमाडौं, भदौ ६ गते । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता भदौ १५ गतेबाट नेपालमा हुने भएको छ ।
प्रतियोगितामा एसियाका २५ देशका खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो । एक साता चल्ने प्रतियोगितामा खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
जसमा पुरुषतर्फ २८, महिलातर्फ १६ र एउटा मिक्स प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरु याकएन्ड यति होटलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित तीन करोड ६२ लाख रुपियाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच अन्तिममा प्रतिस्पर्धा गराइ मिस्टर एसिया–२०२३ घोषणा गरिनेछ । यस्तै सर्वाधिक अङ्क प्राप्त गर्ने तीन दशलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो उपाधि दिईनेछ ।