• १४ मंसिर २०८१, शुक्रबार

वन्यजन्तु उद्धार केन्द्र निर्माण

blog

डिभिजन वन कार्यालय तनहुँले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रको भवन । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ६ गते । डिभिजन वन कार्यालय तनहुँले दमौलीस्थित कार्यालय परिसरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरेको छ । टुहुरा, असहाय, अशक्त, घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धार, उपचार र व्यवस्थापन गर्न केन्द्र निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । 

वन्यजन्तुको केन्द्र स्थापना गरेपछि उद्धार गरी राख्ने र पालनपोषण गर्न सहज हुने प्रमुख काफ्ले बताउनुहुन्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँसँग समन्वय गरी घाईते तथा बिरामीको उपचार गरिने काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेले भन्नुभयो, “घाईते तथा बिरामीको उपचार गर्न जिल्लाका पशुचिकित्सकसँग समन्वय गरी उपचार गर्छौं, प्राकृतिक वासस्थानमा पुनःस्थापन गर्न नसकिने वन्यजन्तुलाई चितवनको सौराहास्थित वन्यजन्तु अस्पतालमा पठाउँछौं ।’’ उद्धार गरिएका वन्यजन्तुको उपचार तथा पालनपोषण गरी पुनः प्राकृतिक वासस्थानमा छोड्ने कार्यालयले जनाएको छ भने केन्द्रमा तीन वटा कोठा छन् । 

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय तनहुँबाट प्राप्त १६ लाख रुपियाँको लागतमा उद्धार केन्द्र निर्माण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।