• १४ मंसिर २०८१, शुक्रबार

बेनी–जोमसोम सडक

पाँच दिनदेखि अवरुद्ध दाना खण्डमा यातायात सञ्चालनमा

blog

पाँच दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सडकखण्ड सञ्चालनमा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ६ गते ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पाँच दिनदेखि अवरुद्ध भएको सडक बुधबार बिहानदेखि खुलेको छ । नारच्याङ पुलदेखि दानाको काभ्रेभीरसम्म करिब पचास ठाउँमा पहिरो खसेका कारण विगत पाँच दिनदेखि यातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।

दानाको जलथले, गुइँठे, सुकेबगर, खामभित्ता र काभ्रेभीरमा वर्षासँगै पचासभन्दा बढी स्थानमा खसेको पहिरोलाई पाँचदिन लगाएर पन्छाएसँगै यातायात सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘धेरै स्थानमा पहिरो खसेर सडक बगाएका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । वर्षा भए फेरि सडक अवरुद्ध हुनसक्छ ।’’

यो खण्डमा सडक माथिबाट खनिएका ग्रामिण सडक, कमजोर भूगोल, भूमिगत पानी र कालिगण्डकी नदीको कटानका कारण सडक क्षतविक्षत भएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आयोजनाका इन्जिनियर, प्राविधिकहरुको टोली र निर्माण व्यवसायीका उपकरणहरु प्रयोग गरेर सडक खुलाएका छौं । पानी परेमा फेरि सडकमा पहिरो खस्ने देखिन्छ । सडकमाथिको भाग चिराचिरा परेर बसेको छ ।’’

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । हिलो र साँघुरो सडक भएकाले सुरक्षित भएर यात्रा गर्न उहाँले अनुरोध गर्नुभएको छ ।