म्याग्दी समाचारदाता
म्याग्दी, भदौ ६ गते । म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालले जनशक्ति अभाव हुँदा पेडियाट्रिक (बच्चा) वार्ड छुट्टै सञ्चालन गर्न अप्ठ्यारो भएपछि मेडिकल वार्डमा गाभेर सेवा दिन थालेको छ। बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठ्यारो परेकाले त्यसलाई पनि भाभिएको छ।
बेनी अस्पतालमा ५९ जनाको दरबन्दी भए पनि दरबन्दी अनुसार चिकित्सक तथा कर्मचारी नभएकाले बच्चा र सर्जिकल वार्डलाई मेडिकलतर्फ भागेर सेवा प्रदान गरिएको छ। गत हप्ता झन्डै एक हजार पाँच सय बिरामीले बहिरङ्ग विभाग (ओपिडी) सेवा लिएको बेनी अस्पतालमा यो हप्ताका दुई दिनमा पाँच सयभन्दा बढीले सेवा लिइसकेका छन्।
भाइरल ज्वरोका बिरामीको सङ्ख्या निकै धेरै रहेको अस्पतालमा जनशक्ति अभावमै सञ्चालनमा रहेको बच्चा वार्ड नै बन्द गर्ने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको सेवाग्राहीको गुनासो छ। बच्चा बिरामी भएर अस्पताल लगेका जगन्नाथ आचार्यले मेडिकल वार्डमै राखेरै बच्चाको उपचार गर्नु परेको बताउनुभयो। प्रदेशको करार दरबन्दीबाट गत आर्थिक वर्षमा करारमा आएका १३ जनाको करार सकिएपछि अस्पताल सञ्चालनमै समस्या भएको छ। प्रदेशले पठाएको कर्मचारीको करार थप नभएपछि समस्या भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो।
उहाँले भन्नुभयो, “करार सकिएका कर्मचारीलाई खाजा खर्च हामी उपलब्ध गराउँछौँ काम गर्नुहोस् भनेका हौँ तर उहाँहरूले मान्नुभएन। त्यसैले बच्चा वार्ड सञ्चालन गर्न नसकेपछि बन्द गर्न बाध्य भयौँ।” अहिले अस्पतालमा दरबन्दीका दुईसहित अन्य स्रोतबाट चार रेजिडेन्ट, तीन कन्सल्टेन्ट र पाँच मेडिकल अधिकृत कार्यरत छन्। आव २०७९/८० को प्रदेश करार सम्झौता अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीको प्रदेशबाट म्याद थप नभएकाले इमर्जेन्सी, ल्याब, इन्डोर वार्ड, डायलासिसलगायतका नियमित सेवा प्रभावित भएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी दिएको थियो।
बेनी अस्पतालमा हाल १४ जना मात्रै कार्यरत छन्। बेनीमा २६ जनाको दरबन्दी रहे पनि आठ जना अध्ययन बिदा र चार जना काजमा अन्यत्रै गएका छन।