• १४ मंसिर २०८१, शुक्रबार

नयाँ जातका स्याउ खेती विस्तार

blog

यदुप्रसाद भट्ट 

मनाङ, भदौ ६ गते । परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौ धौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन्। स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन्। परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन्। 

नासोँ गाउँपालिका–४, घेलानचोकका रामप्रसाद गुरुङले फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ एउटै बोटमा ४५ किलोसम्म फल्ने गरेको बताउनुभयो। उहाँले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फार्म’ विस्तार गर्नुभएको छ। चार वर्षअघि लगाएको स्याउले फल दिन थालेको दुई वर्ष भयो। दुई वर्षदेखि नै फल दिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ लगाव बढेको सङ्गीता गुरुङले बताउनुभयो। स्याउ बेचेर प्राप्त भएको पैसाबाट लमजुङ, पोखरा, काठमाडौँलगायतका सहरमा राखेर बच्चाबच्ची पढाउनुपर्ने बाध्यता उहाँमा छ। 

अहिले प्रायः किसान परम्परागत खेती विस्थापित गर्दै यो प्रविधिको स्याउ खेतीमा लागेका छन्। जति चिसो भयो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन्। कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले मनाङमा प्रायः कृषकले यस्ता स्याउ उत्पादनमा जोड दिएको बताउनुभयो। यी स्याउ उत्पादनको पहिलो सुरुवात एग्रो मनाङ प्रालिले गरेको हो। मनाङको ङिस्याङ गाउँपालिका–१, भ्राताङमा एग्रो मनाङ प्रालिले ७३५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ। यहाँ गाला, गोल्डेन र फुजी गरी तीन थरीका स्याउ फलेको छ। स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना लाग्छ। यो वर्ष ४५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ। गत वर्ष चार सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो। मनाङमा स्याउबाट वार्षिक पाँच करोडभन्दा बढी आम्दानी हुन्छ। 

पूर्वसांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्बियाबाट स्याउको बेर्ना ल्याएर स्याउ खेती थाल्नुभएको छ। एग्रो मनाङको स्याउ काठमाडौँ, पोखरालगायत ठूला ठूला डिमार्टमेन्ट स्टोर तथा होटलमा बिक्री हुन्छ। समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको सात वर्ष भयो। स्याउ भण्डारण गर्न भ्राताङ, बेँसीसहर र काठमाडौँमा चिस्यान केन्द्र निर्माण गरिएको छ। एग्रो मनाङले हालसम्म दुई करोड २४ लाख रुपियाँ  अनुदान सहयोग पाएको छ। 

पूर्वसांसद पोल्देन छेपाङ गुरुङले भन्नुभयो, “हिमाली क्षेत्रहरूमा यसै गरी फार्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिन्छ।” उहाँका अनुसार नेपालमा बाहिरी देशबाट १३ अर्ब रुपियाँको स्याउ आयात हुन्छ। 

एग्रो मनाङ प्रलिका अध्यक्ष सोमराज गुरुङले फार्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको बताउनुभयो। ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ। २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपियाँ भाडा तिर्ने गरी स्याउ खेती अघि बढाइएको यस फार्ममा अहिलेसम्म ३० करोड रुपियाँ लगानी भएको अध्यक्ष गुरुङले बताउनुभयो। 

गुरुङका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले दुई करोड २४ लाख रुपियाँ अनुदान दिएको थियो। प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बिउ र प्याकेजिङमा अनुदान छ। बाँकी लगानी बैङ्कबाट जुटाइएको उहाँले बताउनुभयो। फार्ममा रहेका ६२ हजार बिरुवामध्ये धेरैले उत्पादन दिन थालेका छन्। केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ।