• १४ मंसिर २०८१, शुक्रबार

कागबेनीमा बाढीले एक अर्ब बराबरको क्षति

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी भदौ,६ गते ।  मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पुर्‍याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको थियो । मंगलबार गाउँपालिकाले बाढीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।  

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय,प्रशासन र रेडक्रसको सहयोगमा क्षतिको विवरण संकलन गरेको पालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक संरचना,स्थानीयवासी,भाडामा व्यवसाय गरी बस्ने व्यक्ति,मजदुर,सरकारी कार्यालय र संघसंस्था गरी उक्त  क्षतिको विवरण तयार पारिएको छ । सरकारी निकाय र स्थानीयबासीको सक्रियतामा अहिले कागबेनी पुननिर्माण अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । 

नगद सामान र संरचनाहरुमा मात्र ८१ करोड ८३ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । सडक,मोटरेबल पुल,झोलुङ्गे पुल,गुम्बा,मन्दिर धर्मशाला,सामुदायिक भवन,वडा,प्रहरी चौकीको भवन,तटबन्धन लगायत १४ वटा गरी भौतिक पूर्वाधार तर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन भएको पालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।   

व्यक्तिका पचास वटा घरमा ५२ करोड ८९ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको पालिकाले जनाएको छ । २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति पुगेको छ । नौ वटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको छ । बाढीले बगाउदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् । 

१९ वटा दुई पाङ्ग्रे र तीनवटा चार पाङ्ग्रे सवारी साधन क्षति भएको छ । १९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको तीन करोड नौ लाख मुल्य बराबरको सामग्री बाढीले बगाएको छ । १२ वटा सरकारी तथा सामुदायिक संरचनामा चार करोड ८० लाख साठी हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । 

१८ जना कृषकको ४५ रोपनी भन्दा बढी जग्गा बाढीले पुरेको छ । दुई सय ७४ वटा स्याउका बोट बाढीले नष्ट गरेको छ । गत साउन २८ गते साँझ कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढीले कागबेनी बजारमा पसेको थियो । 

बाढीले तहसनहस पारेको कागबेनीलाई पहिलाकै अवस्थामा फर्काउन स्थानीयहरु पुननिर्माण अभियानमा जुटेका छन् । जनप्रतिनिधि,स्थानीयबासी र सरकारी निकाय यतिखेर राहत संकलन,उद्दार र पुननिर्माणमा सक्रिय भएको पालिका उपाध्यक्ष श्री दिकी गुरुङले बताउनुभयो । जोमसोमका स्थानीयबासीहरु पनि कागबेनीमा बाढी पन्छाउन श्रमदान गर्न पुगेका छन् । मुस्ताङको गाउँ-गाउँबाट  मुखियाहरुको अगुवाईमा राहत रकम संकलन हुनुका साथै बाढी पन्छाउन श्रमदान गर्न कागबेनीमा आएका छन् ।