• १४ जेठ २०८१, सोमबार

आन्तरिक विशेष अभियान : विपक्षीको भ्रम चिर्दै कांग्रेस

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा । तस्बिरः केशब गुरुङ

काठमाडौँ, भदौ ५ गते। नेपाली कांग्रेसले विपक्षीले फैलाएको राजनीतिक एवम् अन्य भ्रम चिर्दै चार वटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण जिल्ला मातहतमा बुझाउने काम भएको बताएको छ। 

पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘संगठनका सदस्य, समर्थक, शुभचिन्तक र मतदाता वीच विपक्षीहरुले फैलाएका राजनीतिक एवम् अन्य विभिन्न भ्रम चिर्दै नेपाली कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण तीनै तहका निर्वाचनमा कांग्रेसले पहिलो स्थान कायम गर्न सफल भई संघीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ जिल्ला सबैलाई बुझाउने काम भएको छ ।’  

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको आन्तरिक विशेष अभियानको विषयमा बुधबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलुकको तीनै तहका निर्वाचनमा पहिलो स्थान कायम गर्न सफल भएको बताउनुभयो। 

उहाँले अभियानमा सांगठानिक अवस्थाबारे विधान सम्मत भए नभएको साक्षात परीक्षण गरिएको र सो बमोजिम गर्नुपर्ने कार्य नगरिएको वा नभएका जिल्ला, क्षेत्र, प्रदेश, पालिका वा वडालाई तत्काल गर्न गराउन निर्देशन दिइएको बताउनुभयो। 

सबै तहको आधिकारिक फेसबुक पेज सञ्चालन गर्ने 

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने बताएको छ। 

प्रचार विभाग प्रमुख  विश्वकर्माले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको आन्तरिक विशेष अभियानको सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सदस्यता नवीकरण तथा पार्टीको प्रचारप्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिले एक-एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्ने बताउनुभयो।

उहाँले कांग्रेसको सदस्यता पार्टीको वेबसाइट मार्फत अनलाइन प्रक्रियाबाट लिन सकिने जानकारी गरा पार्टीको भ्रातृ संघ र शुभेच्छुक संस्थाको विभिन्न तहमा रहेका सदस्य र हालसम्म कुनै पनि पार्टीमा आबद्ध नभएका व्यक्तिलाई समेत अनलाइन सदस्य बन्न प्रेरित गर्ने बताउनुभयो। 

यसैगरी, पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो।

उहाँले नेपाली राजनीतिक सन्दर्भमा कांग्रेसले जनताको स्थायी विश्वास पाएको दलको रुपमा रहेको भन्नुहुँदै नेतृत्वको बेमेल नै प्रमुख कारणले अपेक्षित परिणाम ल्याउन नसकिएको नेताको बुझाइ रहेको बताउनुभयो। 

कांग्रेसले भ्रष्टाचार र सुशासनको सन्दर्भमा सहनशीलताको नीति अन्तर्गत ‘कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन’ भन्ने प्राकृतिक सिद्धान्तलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषय जनसमक्ष गहिरोसँग बुझाउन आन्तरिक विशेष अभियान सफल भएको बताएको छ।