साधन घर्ती
म्याग्दी (दरबाङ),भदौ ५ गते । बागलुङको सबैभन्दा दुर्गम र विकट गाउँ निसेलढोर गाउँका स्थानीय जुमबहादुर बुढा मगर अहिले ७२ वर्षको हुनुभयो। निसिखोला गाउँपालिका–५,मा अवस्थित निसेलढोरबासी टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आएका छन् । टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आउनुभएका जुमबहादुरलाई गाउँमा बिजुली बलेको हेर्ने ठुलो धोको छ । ‘‘हामीले गाउँमा मट्टितेलको टुकी बत्ती र सल्लाको दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आइरहेका छौँ,’’ लामो सुस्केरा हाल्दै उहाँले भन्नुभयो,‘‘मेरो जीवनको अन्तिम समयसम्म गाउँमा बिजुली बलेको हेर्ने मेरो सपना सपना मात्रै होला जस्तो छ ।’’
निसेलढोरबासी बिजुली मात्र होइन आधारभूत विकासबाट समेत वञ्चित छन् । नेपाल प्रहरीको प्रहरी नायव निरीक्षकबाट अवकाश प्राप्त उहाँ आफ्नो जीवनको अन्तिम समयसम्म गाउँमै विद्युत सँगै अन्य गुणस्तरीय खानेपानी, स्वास्थ्य र शिक्षा पाउने आशामा हुनुहुन्छ । उहाँ मात्र होइन निसेलढोरबासी नै उज्यालोको पर्खाइमा छन् । उहाँको परिभाषामा उज्यालो भनेको टुकी र दियालो विस्थापित गरी विद्युतको पहुँच पुग्नु मात्र नभई गुणस्तरीय सञ्चार, शिक्षा,खानेपानी र स्वास्थ्य लगायत आधारभूत आवश्यकताको विकास हुनु र नागरिकको पहुँचमा पुग्नु हो । उहाँकै शब्दमा भन्ने हो भने निसेलढोरले त्यही उज्यालोको दिन पर्खिरहेको छ । र, निसेलढोरबासी त्यहीँ उज्यालो आउने आशामा छन् ।
भौगोलिक रूपमा दुर्गम अनि विकट निसेलढोर कृषि ,पशुपालन ,जडीबुटी र पर्यटनमा अथाह सम्भावना भएको गाउँ हो । यहाँ आलु ,सिमी ,स्याउ उत्पादन हुने गर्दछ । भने स्थानीयले भेडाबाख्रा र गाईभैँसी समेत पाल्ने गर्दछन् । निसेलढोरमा करिब दुई सय रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरिएको छ । ‘‘निसेलढोर सबै हिसाबले अथाह सम्भावना भएपनि हामीले अहिलेसम्म केही लाभ लिन सकेका छैनौँ ,’’जुमबहादुरले भन्नुभयो । विद्युत नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न उत्तरगङ्गा, निसीगाउँमै पुग्नुपर्ने बाध्यता छ ।
वडा अध्यक्ष हर्कमान घर्ती मगरका अनुसार ,देशमा सङ्घीयता आएपछि केही वर्ष पहिले मात्र बुर्तिबाङ बजारदेखि गाउँसम्म ५० किलोमिटर कच्ची सडक विस्तार भएको हो । उत्तरगङ्गा नदीमा पुल नबन्दा उक्त सडक पनि वर्षातको समयमा बन्द हुने गरेको छ । सडक पहुँचका कारण यहाँ उत्पादन हुने स्याउ,आलु, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । पछिल्लो समय निसेलढोरमा पर्यटक समेत जाने गरेका छन् । विद्युतको सुविधा नहुँदा पर्यटक बास नबसी फकर्ने गरेको वडा अध्यक्ष घर्ती मगरको भनाइ छ । विद्युत र सञ्चारको पहुँच विस्तार हुन सकेमा यहाँका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।
निसेलढोरमा विद्युत पु¥याउन सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । केही भिरालो केही सम्म परेको भूगोलमा अवस्थित निसेलढोरगाउँमा भेषभुषा ,रीतिरिवाज र जीवनशैली अन्यको भन्दा केही फरक छ । नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ ।
गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ । निसेलढोर गाउँको जनसङ्ख्या करिब ४ सय रहेको छ । स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे।तर, अहिले केही स्थानीय बाहेक सिजनअनुसार बसाइसराइ गर्न छाडेर स्थायी रूपमै यहाँ बस्ने गर्छन्। गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरका अनुसार ,हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५,वासीको परम्पराजस्तै हो । भौगोलिक विकटताको कारण निसेलढोर विकासमा पछाडि परेको उपाध्यक्ष घर्ती मगरको भनाइ छ ।
भौगोलिक रूपमा दुर्गम र विकट निसेलढोरको विकास लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । ‘‘जिल्लाकै दुर्गम निसेलढोर पर्यटन ,कृषि ,पशुपालन लगायत सबै हिसाबले प्रचुर सम्भावना बोकेको गाउँ हो । यस ठाउँको विकास र स्थानीयको जीवनस्तर उकास्न हामी लागिपरेका छौँ ,प्रदेश र सङ्घ सरकारलाई पनि घचघच्याइरहेका छौँ,’’उहाँले भन्नुभयो । यहाँ आधारभूत तहको कक्षा पाँच सम्म मात्र पढाई हुँदै आएको छ । कक्षा पाँच पछि माध्यमिक तहको अध्ययनको लागि निसिगाउँ स्थित ज्ञानेन्द्र माविमा जानुपर्ने बाध्यता छ । यहाँ स्वास्थ्य इकाई स्थापना गरिएको छ । सबै वडामा सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ ।