• ६ जेठ २०८१, आइतबार

"नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ"

blog

राष्ट्रिय सभाको मङ्गलबारको बैठक । तस्बिरः केशब गुरुङ

काठमाडौं, भदौ ५ गते। राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ। सुन तस्करी भन्दा पनि ठुलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दल चुपचाप रहेको भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो। 

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै  सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउनु उपयुक्त हुनेसमेत तर्क गर्नुभयो। संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ थियो। 

उहाँले भन्नुभयो, ‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ। एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय छ। तर यो भन्दा पनि लज्जाको विषय नक्कली भुटानी शरणार्थी सम्बन्धी विषय हो। तर यसमा दलहरू किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस्।’’

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गर्नुभयो।