बिन्दु थापा
पाल्पा, भदौ ४ गते । बगनासकाली गाउँपालिका–६ का बोटे समुदायले अन्याय भएको भन्दै बगनासकाली गाउँपालिका कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय बोटे समुदायले डम्पिङ्ग गरी राखेको बालुवा आफूहरूको रहेको भन्दै गाउँपालिकाले उठाएर आफ्नो रोजीरोटी खोसिदिएको आरोप लगाएका छन् । बोटेहरूले पालिकामा उजुरी दिँदा समेत वास्तै नगरी अध्यक्षलाई फसाउन चलखेल गरेको बताउँदै निष्पक्ष न्याय दिन अनुरोध गरेका हुन् ।
स्थानीय प्रकाश बोटेले रोयल्टी तिरेर कारोबार गरेको र त्यही कामबाट गाउँको रोजिरोटी चलेको बताउँदै गाउँपालिकामा बोलाएर प्रहरीले डर त्रास देखाउँदै कोठामा थुनेर जबरजस्ती कागज गराएकाले आफ्नो जिउ ज्यान समेत खतरामा परेकाले न्याय माग्न आएको बताउनुभयो ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई गिट्टी, बालुवा डम्पिङ गरेर राखेको भन्दै पालिकाले जरिवाना गर्ने निर्णय गरेको थियो । तर वडा अध्यक्ष अधिकारीले भने आफूले कुनै गलत काम नगरेको र पालिकालाई स्पष्टीकरण समेत दिने मौका नदिएको बताउनुभयो ।
कार्यपालिकाको बैठकमा कुरै नगरी राजनीतिक पूर्वाग्रहको आधारमा आफू बैठक सकेर हिँडेपछि, जरिवानाको निर्णय गरी राजनीतिक प्रतिशोध साधेको पीडित वडाध्यक्ष अधिकारीको गुनासो छ ।
वडा कार्यालयलाई जानकारी समेत नदिई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुनअनुरूप राजस्व दाखिला गरी स्थानीय व्यक्तिहरूले सङ्कलन गरेको नदीजन्य पदार्थलाई केही व्यक्तिहरूको लहलहैमा राजनीतिक पूर्वाग्रह साँधी नवनिर्वाचित वडा अध्यक्षमाथि कपोकल्पित आरोप लगाइएको स्थानीय प्रकाश बोटेले बताउनुभयो ।
पालिका अध्यक्ष सरस्वती चिदीले वडाध्यक्षलाई आफूहरूले राजनीतिक पूर्वाग्रहका आधारमा त्यसो नगरेको बताउनुभयो । पालिकाले आर्थिक वर्ष २०७९–८० मा वडा ६ यम्घा दर्पुकको टिपुवाघाटलाई नदीजन्य पदार्थको निकासीका लागि ठेक्का लगाएको थियो ।