• १३ असोज २०८१, आइतबार

सिक्दै कमाउँदै विद्यार्थी

blog

लीलाधर वली 

घोराही, भदौ ५ गते ।  घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्ययरत रेणु डिसी एग्रिकल्चर (आइएस्सी) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। 

दङ्गीशरण गाउँपालिका निवासी डिसी बिहानीको समयमा पढाइ र दिउँसोको समयमा भने विद्यालयको खैरास्थित जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ। विद्यालयले उपलब्ध गराएको जग्गामा उहाँ तरकारी रोप्ने, गोडमेल गर्ने, पाकेको तरकारी टिप्नेदेखि बिक्रीमा व्यस्त हुन्छन्। 

बाली विज्ञानमा अध्ययनरत विद्यार्थीको सिकाइ तथा प्रयोगात्मक अभ्यासका लागि चार बिघा जग्गा व्यवस्थापन गरिदिएपछि साथीसँगै आफूले पनि विगत दुई वर्षदेखि तरकारी खेती गर्दै आएको विद्यार्थी रेणु बताउनुहुन्छ। 

पठनपठानसँगै तरकारी खेती गर्न थालेपछि कृषि व्यवसायसम्बन्धी ज्ञान लिनका साथै तरकारी खेती गर्न सहज भएसँगै आम्दानी हुने गरेको भनाइ उहाँको छ। विद्यार्थी डिसीले भन्नुभयो, “कक्षामा पढाइने पढाइले सैद्धान्तिक ज्ञान मात्रै हुन्छ। व्यावहारिक रूपमै तरकारी खेती गरेर अभ्यास गर्दा पाठ्यक्रममा समावेश गरिएका विषयवस्तु बुझ्नलाई सजिलो हुनुका साथै आम्दानी पनि हुने गरेको छ ।” 

विद्यालयमा पढेका कुराहरू खेतबारीमै व्यावहारिक रूपमा सिक्दै आम्दानी गर्न थालेपछि बाली विज्ञान विषयमा अध्ययनरत मुगु जिल्ला सत्याङ गाउँपालिका–९, खमाले निवासी सपना बुढा पनि खुसी हुनुहुन्छ। कृषि पढ्नका लागि मुगुदेखि दाङ आउनुभएकी सपनाले तरकारी खेतीसमेत गर्दै आउनुभएको छ। विद्यालयले व्यावहारिक ज्ञानसँगै तरकारी खेतीबाटै आयआर्जनका लागि जग्गा उपलब्ध गराएपछि पढेका कुरा सिक्ने अवसरसँगै आम्दानी गर्ने माध्यम बनेको सपना बताउनुहुन्छ। 

उहाँका अनुसार खेतबारीबाट उत्पादन भएको तरकारी बिक्री गरेर करिब चार हजार आम्दानी गर्नुभएको छ। कृषि पढ्न थाले पनि व्यावहारिक रूपमा तरकारी खेती कसरी गर्छन् भन्ने अभ्यास थिएन, उहाँले भन्नुभयो, विद्यालयले पढाइसँगै सिक्नका लागि जग्गा उपलब्ध गराइदिएपछि अहिले पढेका कुरा सिक्दै, उत्पादन भएको तरकारी बिक्री गर्दा आम्दानी हुन थालेको छ । 

डेरागरी बस्ने उहाँहरू जस्तै धेरै विद्यार्थीलाई सहज भएको छ । उहाँका अनुसार विद्यार्थीले सिजन अनुसार भिन्डी, बोडी, खुर्सानी, गोपी, काँक्रोसँगै च्याउ उत्पादन गर्दै आएका छन् । 

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने स्रोत बनेको विद्यालयका बाली विज्ञान कार्यक्रम संयोजक शिक्षक युवराज बस्नेत बताउनुहुन्छ। 

कक्षाकोठामा पढेको कुरा व्यवहारमा उतार्नका लागि विद्यार्थीहरू दिउँसोको समयमा खेतमा पुग्ने गरेका छन् । कार्यक्रम संयोजक बस्नेतले भन्नुभयो, “तीन वर्षअघि कृषि विषयको पढाइ सुरु गरेको विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रममा जोडिएपछि विद्यार्थीले पढाइसँगै तरकारी खेती गर्न थालेका हुन्। 

यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै तरकारी खेती गर्न र बजार व्यवस्थापनसम्बन्धी ज्ञान सिकाउने काम गरेको छ । उहाँका अनुसार पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत अहिले ६५ विद्यार्थी सहभागी छन्। पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीमा उत्साह र गर्जा थप्ने काम गरेको छ। शिक्षक बस्नेतले थप्नुभयो, “विद्यार्थीले सैद्धान्तिक ज्ञान कक्षाकोठा र व्यावहारिक ज्ञान फिल्डमा सिक्ने गर्छन् । यसरी सामूहिक रूपमा तरकारी खेती गर्दा सिकाइसँगै आम्दानीसमेत गर्ने गरेका छन् ।” 

उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउन विद्यालयले विद्यार्थीका लागि ढुवानीको साधन अटोको व्यवस्था गरिदिएको छ । अटोबाट विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेको अर्का विद्यार्थी रोमिङ चौधरीले बताउनुभयो। 

विद्यालयमा पढाइसँगै तरकारी रोप्नका लागि खेत बनाउने, बिउ राख्ने, रोप्ने, गोडमेल गर्नेदेखि उत्पादन भएको तरकारी बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ। विद्यार्थीले समूह बनाएर तरकारी खेतीका लागि काम गर्र्ने गरेका छन् । विद्यार्थी चौधरीले भन्नुभयो, “विद्यालयमा पढाइसँगै तरकारी खेतीले आम्दानी पनि हुने गरेको छ।”

तरकारी खेती गरेबापत विद्यार्थीले ५० प्रतिशत, विद्यालयले २० प्रतिशत र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत आम्दानी पाउने गरेको विद्यालयका प्रधानाध्यापक उत्तम खनाल बताउनुभयो। गरिबीका कारण आयआर्जन गरी पढ्नुपर्ने बाध्यतामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मनिर्भर गराउने उद्देश्यले सुरु भएको यो कार्यक्रम सफल हुँदै गएको दाबी विद्यालयका प्रधानाध्यापक खनालको छ। 

अहिलेसम्म बाली विज्ञान अध्ययनरत विद्यार्थीहरू मात्रै सो कार्यक्रममा जोडिएको जनाइएको छ। अन्य विषय अध्ययनरत विद्यार्थीलाई पनि उक्त कार्यक्रममा जोड्ने सोच रहेको उहाँ बताउनुहुन्छ। कृषिका लागि खेतमा आवश्यक पर्ने बिउ, मल, औजार उपकरण, सिँचाइका लागि डिप बोरिङको व्यवस्था विद्यालयले नै गरिदिएको छ।