• १४ मंसिर २०८१, शुक्रबार

योजना किनबेच रोकिने

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, भदौ ५ गते ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आयोजना व्यवस्थित तवरले छनोट र कार्यान्वयन गर्न थालिएको बताउनुभएको छ। कार्यभार सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा मन्त्री जुग्जालीले यो वर्षदेखि आयोजना डुब्लिकेसन, किनबेच र ससाना योजनामा बजेट छर्ने प्रवृत्ति रोकिएको बताउनुभएको हो। 

मन्त्री जुग्जालीले आफ्नो कार्यकालको मुख्य उपलब्धि रुग्ण आयोजना घटाउनुलाई लिनुभएको छ। गण्डकी प्रदेश सरकारले यस वर्ष भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ३० भन्दा बढी साना योजना बजेटमा समावेश गरेको छैन। 

साना योजना कटौती गर्दा आयोजनाको सङ्ख्यामा उल्लेख्य कटौती भएको छ। यो मन्त्रालयमा कार्यभार सम्हाल्दा ४६ रुग्ण आयोजना रहेकोमा त्यो सङ्ख्या अहिले १७ मा झरेको उहाँले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा मातहतका कार्यालय प्रमुखलाई कुनै पनि आयोजनालाई रुग्ण अवस्थामा नरहन निर्देशन दिइएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “वडा र प्रदेशका आयोजना नछुट्टिने अवस्था थियो। अहिले हामीले त्यसमा सुधार गरेका छौँ। यसरी प्रदेशका योजनाको मापदण्ड बन्दा काम गुणस्तरीय बनाउन पनि सहयोग पुग्छ।” 

०५९ बाट बागलुङमा चार पाङ्ग्रे सवारीको परीक्षा रोकिएकोमा केही दिनभित्र बागलुङबाट चार पाङ्ग्रे सवारीको सवारी चालक अनुमतिपत्रको परीक्षा सुरु गर्ने मन्त्रालयको तयारी छ। राइड सेयरिङलाई अनुमति दिने सरकारको योजनाबारे अहिले गम्भीर छलफल भइरहेको उहाँले खुलासा गर्नुभयो। 

मन्त्री जुग्जालीको कार्यकालमा पोखरा उपत्यकाका ट्याक्सी मिटरमा चलाउने निर्णय भएको र मन्त्रालयले २० वर्षे ट्याक्सी विस्थापन गर्दा विद्युतीय भाडा कार दर्ता गर्न सार्वजनिक विद्युतीय सवारी सञ्चालन मापदण्ड बनाएको बताउनुभयो। उहाँले यातायात हेल्प डेस्क राख्ने तयारी भएको जानकारीसमेत दिनुभयो।

भौतिक पूर्वाधार मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना अनुसार सडक निर्माण, मर्मत सम्भार, वर्गीकरण र स्तरोन्नति गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री जुग्जालीले बताउनुभयो।