• १४ मंसिर २०८१, शुक्रबार

बेनी–जोमसोम सडकमा पचासभन्दा बढी पहिरो

blog

दानाखण्डमा पहिरोले सडक बगाएपछि पैदल यात्रा गर्दै सर्वसाधारण ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ ५ गते । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको दानाखण्डमा मात्रै ५० भन्दा बढी पहिरो खस्दा यातायात तीन दिनदेखि अवरुद्ध भएको छ। पहिरो खसेका कारण बिच बिचमा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। 

गत बिहीबार राति परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ३ को सिमानामा पर्ने नारच्याङ पुलदेखि वडा नम्बर ३ को काभ्रेभिरसम्म साना ठुला गरेर ५० भन्दा बढी पहिरो खस्दा चार दिनदेखि सडक अवरुद्ध बनेको हो। काभ्रेभिर, जल्थले, गुइठे, सुकेबगर र खामभित्तामा पहिरोले सडक पूरै बगाएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङको मुक्तिनाथ दर्शन गर्न हिँडेका धार्मिक पर्यटन र मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पहिरोमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। 

काभ्रेभिरसम्मको करिब पाँच किलोमिटर सडकको दुरीमा साना ठुला गरेर ५० भन्दा बढी पहिरो खसेका कारण सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो। आइतबार दिनभर सडक खुलाउने प्रयास गरे पनि सफल नभएको उहाँले बताउनुभयो। सडकमाथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन। उहाँले भन्नुभयो, “आइतबार र सोमबार दिनभर आयोजनाले डोजर प्रयोग गरेर पहिरो पन्छ्याउने काम गरेको छ। अविरल वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले सडकलाई क्षतविक्षत बनाएको छ।’’

उहाँका अनुसार दाना क्षेत्रमा सडकमाथिबाट खसेको पहिरो र कालिगण्डकी नदी कटानका कारण ठुलो क्षति भएको छ। सडकमाथिबाट जथाभावी रूपमा खनिएका ग्रामीण सडक र नदीको कटानले राष्ट्रिय राजमार्गलाई ठुलो क्षति पु-याएको शेरचनले बताउनुभयो। उहाँका अनुसार दानाको जलथले र खामभित्तामा सडकको फाउन्डेसन नै बगाएको छ। यातायात अवरुद्ध हुँदा पर्यटक, तीर्थालु, म्याग्दी र मुस्ताङवासीको यात्रा र दैनिकी कष्टकर बनाएको छ। त्यस्तै गरी निरन्तरको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुवा गाउँ पहिरोको चपेटामा परेको छ। ५२ घरपरिवार बसोबास गर्ने गाउँमा अहिले १० घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरोले घर जोखिम भएपछि ८२ वर्षीय हर्कबहादुर तिलिजा चार दिनदेखि आफन्तको घरमा बस्दै आउनुभएको छ। पहिरोका कारण खानेपानी अवरुद्ध भएको छ।  

गत साउन ३२ गते रातिको भारी वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँका १० परिवार विस्थापित हुन पुगेका हुन्। गाउँभरि करिब साना ठुला गरेर एक दर्जनभन्दा बढी पहिरो गएको छ। बयासी वर्षीय तिलिजाले भन्नुभयो, “वर्षौंदेखि बसेको घर पहिरोले भत्काउन थालेको छ। गाउँभरि पहिरो नै पहिरो छ। यस्तो अवस्था यसअघि कहिल्यै पनि देखेको थिइन।”

घरमाथिबाट ठुलो पहिरो खसेका कारण चार दिनदेखि पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको टकमाया पाइजाले बताउनुभयो। पहिरोले सुवा गाउँमा एक घर पूर्ण रूपमा क्षति भएको छ। स्थानीय सतवीर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्ण रूपमा क्षति पु-याएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो। उहाँका अनुसार दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ। सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्कविच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो। 

सुवालगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयवासीलाई गाउँपालिकाले त्रिपाल, खानेपानीको पाइपलगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ। सुवा गाउँको पहिरोको अवस्थाबारे आइतबार गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीलगायतका टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ।

जोखिममा प्रसारण लाइनको टावर 

कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ। २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गतको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित फगाम गाउँको गम्फु भन्ने स्थानमा  निर्माण गरिएको टावर पहिरोको जोखिममा परेको हो। 

दानाका वडाध्यक्ष रमेश पुर्जाले प्रसारण लाइनको टावरदेखि तल गुइठेको भिरमा ठुलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बेनी–जोमसोम कोरला सडकदेखि टावर रहेको जमिनसम्म पहिरो पुगिसकेको छ, उच्च जोखिममा परेको टावरका बारेमा  सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ।” 

दानाका स्थानीयवासी इन्द्रसिंह शेरचनले कमजोर भूगोलमा टावर नराख्न यसअघि स्थानीयले दिएको सुझावलाई बेवास्ता गर्दा अहिले टावर पहिरोको उच्च जोखिममा परेको बताउनुभयो। टावरदेखि तल पहिरो खस्न थालेपछि दानाका स्थानीयवासी पनि त्रसित बनेका छन्। पहिरोका कारण प्रसारण लाइनको टावर ढलेमा सम्भावित दुर्घटनाका कारण स्थानीय त्रसित भएको शेरचनले बताउनुभयो। बेनी–जोमसोम सडकदेखि टावर करिब सात सय मिटरमाथि छ।  टावरको तल पहिरोको रोकथामका लागि स्थानीयले त्रिपाल हालेर जमिनलाई ढाकेका छन्। टावरको वरपर पनि पहिरो खसेको छ।