बिन्दु थापा
पाल्पा, भदौ ४ गते । तानसेन नगरपालिकाले घर टहरा भत्काएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम गर्न लागेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाले गत वैशाख ६ गते पाल्पा दरबार परिसरका ५७ घर टहरा भत्काएको थियो । तानसेन नगरपालिकाको वडा ३ र ४ को क्षेत्रमा पर्ने दरबार, सडक र सित्तलपाटी क्षेत्रमा ढुङ्गा छाप्ने कामका लागि ठेक्का सुरु भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
ढुङ्गा छाप्ने काम गर्न एवी विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाडौँले ४१ लाख ६९ हजार ६ सय ४३ रुपियाँ ३७ पैसामा असार ९ गते सम्झौता गरेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले सम्झौताअनुसार २०८० मङ्सिर ३० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।