काठमाडौं, भदौ ४ गते । नेकपा (एकीकृत समाजवादी) को आइतबारदेखि सुरु भएको पोलिटब्युरो बैठक सोमबार सम्पन्न भएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कार्यालयमा बसेको बैठकमा मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा एवम् मुख्यगरी राजनीतिक दस्ताबेजका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार भन्ने विषयमा दुई दिनसम्म बहस चल्यो । अध्यक्ष र सम्मानित नेतासहित ४८ जना पोलिटब्युरो सदस्यले सम्पूर्ण धारणा निशंकुच राख्नुभएकोमा धन्यवाद । पार्टीको कामको अनुगमन गर्ने कुरालाई प्राथमिकता दिन जोड दिनुभएको छ ।”
उहाँले पार्टीमा विद्रोह औचित्यपूर्ण रहेको र संसद्, सङ्घीयता र अग्रगमन जोगाउन पार्टीको महत्त्वपूर्ण भूमिका स्थापित भएको बताउनुभयो । सञ्चारकर्मीको थप जिज्ञासामा उहाँले माघमा महाधिवेशन गर्ने गरी वैचारिक बहसमा जोड दिइएको उहाँको भनाइ छ ।