• ११ मंसिर २०८१, मङ्गलबार

दाङमा थारु बालबालिकाको पर्व गुरही मनाइँदै

blog

गुरही पर्वमा रमाउँदै वालावालिका । तस्बिरः छविवाल कोपिला

दिवाकर पोख्रेल  

देउखुरी, भदौ ४ गते । दाङ–देउखुरीको खिमबहादुर शाह माध्यमिक विद्यालय लमही कोलहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी शिला चौधरी मध्यान्तरपछि घर फर्कनुभयो । गुरही पर्व मनाउन र भाइबहीनीलाई सजाउनकै लागि उहाँ छिटो घर फर्कनुभयो । 

उहाँले भन्नुभयो, ‘आज गुरही हो, छिटो घर फर्केँ, अब घर पुगेर भाइबहीनीलाई सजाउने र गुरही मनाउने तयारी गर्ने हो ।’ गुरुही पर्वको अवसरमा दाङ देउखुरीका राप्ती, गढ्वा र राजपुर गाउँपालिकाले एक दिनको लागि स्थानीय बिदा दिएका छन् । 

लमही नगरपालिकाले सार्वजनिक बिदा नदिएका कारण विद्यालय आएका विद्यार्थी पनि विद्यालय आएको केही बेरमै घर फर्किए । गुरही पर्व थारु समुदायका बालबालिकाले मनाउने विशेष पर्व हो । 

बालबालिकाले मनाउने पर्व भएकाले विद्यालय तथा अन्य स्थानीय तहको मातहत  कार्यालयमा बिदा दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले विद्यालयमा अध्ययन गर्ने बालबालिका र उनीहरूका अभिभावकको मागअनुसार स्थानीय रूपमा बिदा दिएको बताउनुभयो ।

स्थानीय थारु समुदायका अगुवाका अनुसार गुरही पर्व साँच्चै बालबालिकासँगै जोडिएको पर्व हो । लमही नगरपालिका –५ कोलहीका स्थानीय थारु बुद्धिजीवी कालुराम चौधरीले बर्खाको समयमा बढी पाइने गाइने किरालाई थारु समुदायले गुरूही भन्ने र बालबालिकाले त्यही कपडाको गुरही वनाउने गरेको बताउनुभयो । 

बालाबालीका पनि नयाँ कपडामा सजिएर गुरहीजस्तै बनेर रमाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बालबालिकाले गुरही बनाउने र त्यो गुरहीलाई चौबाटो वा त्रिवाटोमा लगेर छाडने पुरुषले लठ्टीले हाल्ने र महिलाले चना दिने चलन छ । यो थारु समुदायको महत्त्वपूर्ण पर्व हो ।’

थारु समुदायका संस्कृतिका जानकार छविलाल कोपिलाका अनुसार गुरही पर्व किंवदन्तीमा आधारित पर्व हो । पृथ्वीलोकमा विषालु किराको उत्पत्ति भएपछि कृषि र मानव जातिमा असर गर्न थालेपछि गुरही उत्पत्ति भएको बताइन्छ ।

गुरही बालबालिकाको अवतार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकाले गुरहीलाई बिदाइ गर्दा गुडिया चनालगायतको सामान दिएर पठाउन खोजेको त्यसको प्रतीक स्वरूप पर्वको रूपमा मनाउन थालिएको हो ।’

यता, केटीले थालमा ल्याएको गुडिया त्यहाँ फाल्छन् र केटाहरूले सोंटाले ठटाउँदै ‘दे घुघरी, दे घुघरी’ भन्दै पिट्नेगरेको उहाँले बताउनुभयो । केटीहरूले थालमा ल्याएको घुघरी माग्न केटाहरू झुम्मिन्छन् । 

उहाँका अनुसार भुजा बाँड्दै गाउँको भुइह्यारथान (गाउँको देउथान) मा केटीहरू जान्छन् । ग्राम देउतालाई प्रसाद चढाइ मर्वाको छाप्रोमा छिटेर घर फर्किन्छन् । घर आएर पनि आफ्नो घरमाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीमा छिट्ने गर्छन् । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा वृद्धि हुने विश्वास गरिन्छ । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्छ । यसै दिन नागपञ्चमी पनि पर्छ ।